धनगढी उप-महानगरपालिका द्वारा सुदूरपश्चिम स्पोर्टस अवार्डलाई साथ !

धनगढी उप-महानगरपालिका द्वारा सुदूरपश्चिम स्पोर्टस अवार्डलाई साथ !

सुदूरपश्चिम स्पोर्टस अवार्ड

धनगढी: धनगढी उप-महानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरिरहेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उप-महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा आगामी चैत ७ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो ।

उप-महानगरपालिकाले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७÷७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनाको तयारी थालेको दोस्रो संस्करणका लागि धनगढीका उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड र मञ्चका तर्फबाट महासचिव प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था रातो किताबमै गरेका थियौं । उहाँहरुले तयारी थालेपछि हामीले सहमति मात्रै जनाएका हौं ।’ मेयर ओडले भने–‘कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको थियो । आगामी वर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्डको बजेटलाई निरन्तरता दिनेछौं । अहिलेको भन्दा अझ थप गरेर दिनेछौं ।’

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए । नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो ।

स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको थियो । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणको तयारी सुरु भएको छ । २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार