ओली सरकार नभएर किर्ते सरकार हो : डा. भीम रावल

डा. भीम रावल

धनगढी: नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले मुलुकमा ओली सरकार नभएर किर्ते सरकार भएको आरोप लगाएका छन् ।

‘किर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरिएको छ’, धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको किर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको हो ।’ उनले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताए ।

उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको बताउँदै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने दाबी गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकता सम्बन्धी विवाद समाधान गर्छ,’ उनले भने, ‘४४५ जनामा ३१५ जना हामीसँगै छौँ ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणविरुद्ध देशभक्त नागरिकहरू एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा यथास्थितिमै राख्न हठात् प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनमार्फत लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै त्यसविरुद्ध आफूहरूले खबरदारी गरिरहने बताए । नेता रावलले प्रदेश सरकारमा मन्त्री थप्ने, रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र मन्त्रिमण्डलको हेरफेर गर्ने अधिकार मुख्यमन्त्रीको रहेको बताउँदै मुख्यमन्त्रीले पार्टीको नीतिगत निर्देशनअनुसार काम गर्ने बताए ।

नेता रावलका अनुसार यही माघ १७ गते धनगढीमा प्रचण्ड–माधव पक्षको बृहत् विरोधसभा हुँदै छ । उक्त विरोधसभा सम्बोधन गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी आउने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार