सांसदलाई प्रधानमन्त्रीको प्रश्न– सांसद जागिर हो ?

केपी शर्मा ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरूले सांसद पदलाई स्थायी जागिर ठानेको आरोप लगाएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले सांसद पदलाई जागिर ठानेर पाँचै वर्ष जागिर खान पाउनुपर्ने भन्दै सांसदहरु प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको आरोप लगाएका हुन् ।

उनले भने,  ‘सांसद जागिर हो ? सांसद भनेको जागिर होइन । उनीहरुको तर्क छ– पाँचै वर्ष जागिर खान पाउनुपर्छ । यो स्थायी जागिर हो ?’

ओलीले सांसद जनता र देशमा समर्पित हुनुपर्ने तर्क गरे ।  जनताको आकांक्षाविपरीत सांसदहरु राष्ट्रको सेवाबाट विमुख भएर सरकार परिवर्तनको खेलमा लागेको बताए । उनले स्थायी सरकार ढालेर जोरजामको सरकार बनाएर देशलाई अस्थिरतातर्फ धकेल्न खोजिएकाले ताजा जनादेशमा जाने निर्णय गरिएको दाबी गरे ।

उनले भने,  ‘देशमा अस्तव्यस्त खडा गर्ने । देशमा स्थायित्व हुन नदिने । बहुमतको सरकार तोडेर जोरजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने ? जनता र देशको सेवा नगरेर अरूद्वारा निर्देशित भएर अरूका लागि काम गर्ने भएपछि, स्थिरतालाई भत्काएर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि  स्थिरताका लागि  ताजा जनादेशका लागि जनतामा जानुपर्‍यो ।’

त्यस्तै उनले आफूमाथि लगाइएको ‘तानासाह’ आरोपको खण्डन गरेका छन् । उनले भने, ‘म तानाशाही होइन । मैले मेरो हातमा केही लिएको छैन । जनताको बीचमा गएर फैसला गरुँ भन्दा म कसरी तानासाह भएँ ? मै फैसला गर्छु, मै शासक हुन्छु भनेको छु र ?’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार