खप्तड हेली टुर प्याकेजको शुभारम्भ !

खप्तड घुम्न हेली टुर प्याकेज

डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ ।

खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् ।

खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले खप्ततड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताए ।

‘यस क्षेत्रमा सडकको पहुँच पुर्याउन आवश्यक भएकाले डोटीको सिलगढीदेखि झिंग्रानासम्मको बाटो कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ,’ मुख्यमन्त्री भट्टले भने ‘झिंग्रानादेखि बिचपानीसम्म सडक निर्माणका लागि डिपिआरको कार्य गर्न प्रदेश सरकारले निकुञ्जलाई नै जिम्मा दिएको छ ।’

निकुञ्ज क्षेत्रभित्र विद्युत आपूर्तिका लागि संघीय सरकारसँग समन्वय गरिने भट्टले वताए । उनले भने, ‘पर्यटकहरुले खाने बस्ने व्यवस्था भएन भनेर गुनासो गर्ने गरेको सुनिन्छ, प्रदेश सरकार आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि तयार छ ।’

प्रदेश आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टसहित झिंग्राना पुगेका मुख्यमन्त्री भट्टले झिंग्राना नजिकको वाडी गाउँलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया अगाडि बढिसकेको समेत बताए ।

उनले होमस्टे बनाउनका लागि पनि यस क्षेत्रका स्थानीयवासीहरुलाई आग्रह गरे । ‘स्थानीयवासी र निजी क्षेत्रको लगानीविना सरकार एक्लैले गरेको प्रयास सफल हुँदैन,’ उनले भने ‘त्यसैले सरकारसँगै निजी क्षेत्रले पनि पहल गर्नु जरुरी छ ।’

हेली टुर प्याकेजको पहिलो दिन मन्त्रीत्रयसहित २० जना खप्तडमा पुगेका आयोजक खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले जानकारी दिए ।

धनगढी, दिपायल, झिंग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको खड्काले बताए । उनी भन्छन्, ‘पाँच दिनमा तीन सय पर्यटकलाई हेली टुरमार्फत खप्तड घुमाउने लक्ष्य छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार