नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाइँदै !

सुरक्षित इन्टरनेट दिवस

काठमाडाैं:  सुरक्षित बनाउने उद्देश्यसहित यस वर्ष माघ २७ गते सुरक्षित इन्टरनेट दिवस नेपालसहित एक सय ७० भन्दा बढी देशहरूमा मनाइँदै छ ।

हरेक वर्ष मनाइने यस दिवसले बालबालिका र युवाका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच सहकार्य र समन्वय प्रवर्द्धन गर्नका लागि सहयोग गरेकाे छ ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।

यस समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ र अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्यूरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रुप, छाता संगठन नेपाल र बाल वातावरण केन्द्र समिति रहेका छन् ।

रघुवंशीले भने, “यस दिवसले बालबालिका र युवाको लागि अनलाइनमा सुरक्षित राख्न परिवार, स्कुल, प्रहरी, सरकारी निकाय, निजी क्षेत्र, मिडिया, संघसंस्था र अन्य सरोकारवालासँग सहकार्य गर्न तथा साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्रदान गर्दछ ।”

सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाहरुले अपील भिडियो, पोडकास्ट, युट्युव भ्लग, साेसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । यसका साथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुनेछन् ।

९ फेब्रुवरीका दिन सुरक्षित इन्टरनेट दिवसको मुख्य कार्यक्रम आयोजना गरिनेछ र साइबर सुरक्षाबारे अन्य कार्यक्रम वर्षभर सञ्चालन गरिनेछ ।

सुरक्षित इन्टरनेट दिवसका कार्यक्रमहरुमा सहभागी हुन र सहयोग गर्न राष्ट्रिय समन्वय समितिको तर्फबाट चाइल्डसेफनेटले बालबालिका, युवा, अभिभावक, स्कुल, कलेज, सरकार, प्रहरी, कानून व्यवसायी, निजी क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्र संघीय संस्था, मिडिया र अन्य जिम्मेवार निकायसँग आह्वान गरको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार