‘फल्याको कोदो, कुट्याको धान’ : चौरपाटी गाउँपालिकाले पुर्‍यायो कैलालीमा अर्ग्यानिक कोदो

प्रतिकिलो ४५ रुपैयाँका दरले बिक्री गरिने

'फल्याको कोदो, कुट्याको धान' : अछामको चौरपाटी गाउँपालिकाले पुर्‍यायो कैलालीमा अर्ग्यानिक कोदो

धनगढी: चौरपाटी गाउँपालिकाले कैलाली ल्याएको अर्ग्यानिक कोदो प्रतिकिलो ४५ रुपैयाँका दरले किन्न पाइने भएको छ । गाउँपालिकाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिकिलो ४५ रुपैयाँका दरले कोदो बिक्री गरिने जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदका अनुसार कोदो आजदेखि अत्तरिया र धनगढीबाट विक्रिवितरण गर्न थालिएको छ ।

उनले खुद्रा पसलहरू मार्फत आजदेखि अत्तरिया, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीको बिक्री कक्ष र धनगढीको कैलाली मोडल स्कुल नजिकबाट विक्रिवितरण गर्न थालिएको जानकारी दिए । बजारमा बिक्रीको लागि ५ किलो, १० किलो र १५ किलोको प्याकमा कोदो राखिएको छ ।

गाउँपालिकाको केन्द्रबाट होलसेलमा कोदो खरिद गर्न चाहनेको लागि प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ । भने धनगढीमा होलसेल किन्न चाहाने नागरिकका लागि ४० रुपैयाँ र फुटकरमा किन्ने नागरिकलाई प्रतिकिलो ४५ रुपैयाँका दरले तोकिएको छ ।

तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्रकमा कोदो भरेर निर्यात गर्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष साउँदको भनाई छ । गाउँपालिकाकाले यस वर्षदेखि ‘फल्याको कोदो, कुट्याको धान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमले गाउँपालिकामा कोदो उत्पादनमा उल्लेख्य वृद्धि आउनुका साथै किसानको आर्थिक अवस्था सुधारमा पनि ठुलो टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

गाउँपालिकामा फलेको अर्ग्यानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन् । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ‘फल्याको कोदो, कुट्याको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेका थिए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्त्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहु उपयोगी मानिँदै आएको छ । कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका बिरामीहरूको लागि पनि उपयुक्त वालीको रूपमा कोदो लाई चिनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार