भागरथी हत्या प्रकरण : दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

Police make public Dinesh Bhatta
Police make public Dinesh Bhatta

बैतडी: भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ। यसअघि गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो।

उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनको लागि अनुमति पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। बुधबार नै भागरथीका  दाजु शंकर भट्टले  दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले  अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो।  सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन्। उनी नातामा भागरथीको भाइ पर्छन्। सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताए पनि बिहीबार सरकारी वकिलसमक्ष दिनेशका बुवासमेत राखेर लिइएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। घटना माघ २१ गते दिउँसो नै भएको प्रहरीले जनाएको छ।

यसअघि जिल्ला अस्पताल बैतडीमा भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख गरिएको थियो। घटनामा संलग्न पत्ता नलागेको भन्दै भागरथीका परिवारले यसअघि शव बुझ्न मानेका थिएनन्।  शुक्रबार भागरथीको शव बुझेर १७ औं दिनमा अन्तेष्टि  गरिएको थियो।

दिनेशको  शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको छ। भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार