बर्दियामा बाघको आक्रमण बढ्दो, आठ महिनामा आठको मृत्यु !

बाघको आक्रमणबाट मृत्यु
प्रतिकारात्मक तस्बिर

मधुवन नगरपालिका– ३ बर्दियाकी २८ वर्षीया रेनुका सुनारको २६ फागुनमा बाघको आक्रमणबाट मृत्यु भयो । कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेको थियो ।

घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा दुवै सामुदायिक वनको सीमामा रेनुका मृत अवस्थामा भेटिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।

योसँगै बाघको आक्रमणमा परेर बर्दियामा आठ महिनामा आठजनाले ज्यान गुमाएका छन् । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतंक बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । प्रहरीका अनुसार कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको थियो ।

गत १७ पुसमा भुरीगाउँ–चिसापानी सडकखण्डअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा बाघकै आक्रमणबाट कैलालीकी एक महिलाको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार ती महिलालाई बाघले सडकखण्डमै आक्रमण गरेको थियो । उनको पनि घटनास्थलमै ज्यान गएको थियो ।

बाघको आक्रमणबाट मानवीय क्षति मात्र होइन, पशुचौपायाको समेत क्षति बढेको छ । गेरुवा गाउँपालिका– ४ गिडरपुरमा बाघले आक्रमण गरेर दर्जनौँ खसीबाख्रा मारिसकेको छ । तर, नरभक्षी बाघको अहिलेसम्म पत्तो लागेको छैन । नरभक्षी बाघको खोजी भइरहेको डिएसपी शाहीले बताए । ‘आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौँ,’ प्रहरी नायब उपरीक्षक शाहीले भने ।

स्थानीयमा त्रास, ओहोरदोहोर गर्न समस्या
दिनदहादै सडकमा बाघ निस्कन थालेपछि स्थानीय त्रसित छन् । खाता जैविक मार्ग भएर बाँके राष्ट्रिय निकुञ्जका जनावर भारतको दुदुवा नेसनल पार्कमा र दुदुवा नेशनल पार्कका जनावर बर्दिया राष्ट्रिय निकुञ्जमा ओहोरदोहोर गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

दैनिकजसो बाघ देखिने र मान्छेमाथि आक्रमण हुने घटनाले हुलाकी सडकअन्तर्गत गुलरिया–राजापुर सडकखण्डको कोठियाघाट सामुदायिक वन क्षेत्रमा आउजाउ गर्दा डर लाग्ने गरेको राजापुर नगरपालिका– ९ का राजेश थारूले बताए । उनले ठूला गाडीसँगै मात्र आउजाउ गर्न सकिने अवस्था सिर्जना भएको बताए । ‘बर्दिया र भारतको दुदुवा नेसनल पार्कका जंगली जनावर यही जंगल भएर ओहोरदोहोर गर्छन्,’ उनले भने ।

ओराली बजारका स्थानीय रामसेवक चौधरीका अनुसार बाघ सडकमै आएर बसेको देख्न थालिएको छ । उनले पहिलेको तुलनामा जंगली जनावरको संख्या बढेको बताए । ‘रातको समयको त कुरा नगरौँ, दिउँसै जंगली जनावर घरछेउमा आउँछन्,’ उनले भने ।

सामुदायिक वनमा क्यामेरा जडान
नरभक्षी बाघको आक्रमणले मानवीय क्षति बढेपछि यस क्षेत्रका विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले खाता जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा आठवटा क्यामेरा जडान गरिएको जानकारी दिए । ती क्यामेराको माध्यमबाट बाघको पहिचान गर्न थालिएको उनको भनाइ छ । ‘बाघको संख्या पत्ता लगाउन क्यामरा जडान गरिएको छ,’ उनले भने ।

हुलाकी मार्गमा आउजाउ बन्द जैविक मार्गमा घाँस–दाउरा गर्न रोक

बाघले निरन्तर आक्रमण गर्न थालेपछि मधुवन नगरपालिकाले खाता जैविक मार्ग र सामुदायिक वनमा घाँस–दाउरा गर्न र बस्तुभाउ चराउन रोक लगाएको छ । मधुवन नगरपालिका– ३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय रेनुका सुनारको ज्यान गएपछि नगरपालिकाले जैविक मार्ग र सामुदायिक वनमा घाँस–दाउरा गर्न तथा बस्तुभाउ चराउन रोक लगाएको नगर प्रमुख गणेश केसीले जानकारी दिए ।

गत साउनयता यस सामुदायिक वन क्षेत्रमा मात्रै बाघको आक्रमणबाट पाँचजनाको ज्यान गइसकेको उनले बताए । ‘वन्यजन्तुबाट जोगाउन सचेतनामूलक कार्यक्रम र जैविक मार्ग र सामुदायिक बनमा घाँस–दाउरा गर्न बन्देज लगाएका छौँ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयले हुलाकी मार्गको करिब दुई किलोमिटर सडकखण्डमा बेलुकी ६ बजेपछि दुईपांग्रे र मानिसको आउजाउमा कडाइ गरेको छ । त्यहाँ रातको १० बजेदेखि बिहान ६ बजेसम्म आउजाउ बन्द गरिएको छ । -आजको नयाँँ पत्रिका दैनिकमा विश्वराज पछल्डङ्ग्या ले लेखेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार