सुदूरपश्चिम स्पोर्टस अवार्ड भव्यताका साथ सम्पन्न, कुन विधामा कसले पाए कुन अवार्ड !

सुदूरपश्चिम स्पोर्टस अवार्ड

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

पार्कीले १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए। पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए ।

यस्तै सिंहले १३ औँ दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिइन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने कीर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को कीर्तिमान पनि उनको नाममा छ ।

यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लब पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अञ्जलि चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् ।

नेपालको महिला भलिबल टोलीले बङ्गलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्त्वपूर्ण खेलाडी थिइन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप वर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो ।

उनको प्रशिक्षणमा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनी एक स्वर्ण सहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागिता जनाएका सबै खेलाडीले पदक जितेका थिए ।

कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अञ्जलि चन्दलाई वर्षको स्पेसल अवार्डबाट सम्मानित गरेको छ । दुवै खेलाडीलाई न्यु सिटी पोली क्लिनिक स्पेसल अवार्ड प्रदान गरिएको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । अञ्जलिले १३ औँ साग अन्तर्गत महिला क्रिकेटमा नेपालले मालदिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन् ।

उनले ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् । उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन् । यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल वर्ष युवा खेलाडी घोषित भएकी छिन् । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन् ।

उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । ब्याडमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् ।

माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसिन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो । दाहालले १३ औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए ।

जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ वर्ष मुनिमा कास्य पदक र अन्नपूर्ण अन्तर्राष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

यस्तै १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुबेलाई अवार्ड प्रदान गरिएको हो । उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन् । उनको राष्ट्रिय स्तरका कुस्ती प्रतियोगितामा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार