टी–२० मा नेपालको अहिलेसम्मकै कीर्तिमानी जीत, नेदरल्याण्ड्स १४२ रनले पराजित !

nepali cricket team

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।  शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।

५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए ।  यस्तै करण केसीले  ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो  । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । नेदरल्यान्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।

कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

नेदरल्याण्डका लागि फिलिपे बोसेभाइनले २ विकेट लिए । नेदरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको थियो ।  नेपालले पहिलो खेलमा नेदरल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्यान्डसित तीन विकेटले पराजित भएको थियो ।

चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्डले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड पराजित भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार