सुदूरमा उग्र बन्दै कोरोना, एकै दिन ११ जना कोरोना संक्रमतिको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी: बिहिबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक÷एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै बिहान मृत्यु भएको थियो ।

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार आजै घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० बर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

यस्तै कोभिड भाइरसको संक्रमणका कारण अछामका एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो ।

उता कोभिड भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार