उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस बने भावुक !

धुर्मुसलाई सिंहदरबारमा बोलाएर क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्रीको चासो

धुर्मुसलाई सिंहदरबारमा बोलाएर क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्रीको चासो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रंगशालाबारे चासो राखेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी एवं प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताएका थिए ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेको पाण्डेले बताए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिएको भन्दै उपप्रधानमन्त्री पोखरेललाई धन्यवाद दिए ।

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा कट्टेलले भने, ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो । नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं ।’ अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको कट्टेलले उपप्रधानमन्त्रीलाई जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।

धुर्मुसले भने, ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन ।’  -रातोपाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार