केपी शर्मा ओली तेस्रो पटक ४२ औँ प्रधानमन्त्रीमा नियुक्त !

यस्तो छ, ओलीको राजनीतिक जीवन

केपी शर्मा ओली
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ओलीलाई संसदको सबैभन्दा ठूला दलको नेताको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले भोलि राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनेछन्।

प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली गत सोमबार स्वतः पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तीन दिनको समय दिएकी थिइन्।

उक्त तीन दिनको समय आजै राति नौ बजे सकिएको छ। तिन दिनको समयमा विपक्षी दलहरु कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले बहुमत जुटाउन नसक्दा ओली नै संसदको सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

ओलीको राजनीतिक जीवन

ओलीको जन्म  वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुममा भएको थियो। उनी पहिलो पटक २०७२ साल असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

उनी नेकपा (एमाले) का अध्यक्ष पनि हुन्। उनी यसअघि गृहमन्त्री, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री भएका थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए।

तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका थिए। २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए।

त्यही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष कठोर जेल जीवन बिताएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार