नेपाल सुपर लिग : उपाधिका लागि आज काठमाडौँ र धनगढी भिड्दै, कसले मार्ला बाजी ?

नेपाल सुपर लिग

काठमाडौं: चौधरी ग्रुप सीजीको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजनमेन्टको आयोजनामा संचालित नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि भिडन्त शनिबार हुँदैछ ।

उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ । सात टोलीले सहभागीता जनाएको प्रतियोगितामा लिग चरण गराएर शीर्ष चार टिमबीच भएको प्लेअफपछि फाइनल प्रवेश गर्ने दुई टिमको टुङ्गो लागेको हो ।

उपाधिअघिको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने योजनासहित मैदान उत्रने बताएका छन् । तर यसअघि भएको दुवै भिडन्तमा धनगढी बलियो देखिएको छ ।

लिगको खेलमा धनगढी ३–० गोल अन्तरले विजयी भएको थियो भने पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई हराउन संघर्ष गर्नुपरेको थियो । अतिरिक्त समयमा पुगेर खेल धनगढीले २–१ गोल अन्तरले जितेको थियो ।

तर लय समात्ने स्तर काठमाडौंको बढेकाले पनि फाइनल खेल थप रोमाञ्चक हुनेछ । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि दित्ने दाबी गरेका छन् ।

उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भए पनि तेस्रो भेटमा बदला लिने दाबी गरे ।

काठमाडौंका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने दाबी गरे । धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजा पनि अघिल्ला दुई खेलमा विजयी भएकाले उच्च मनोबलका साथ फाइनल खेल्ने बताउँछन् ।

धनगढीका आईकोनिक खेलाडी तथा कप्तान किरण लिम्बुले विपक्षीलाई सम्मान गर्दै उपाधि जित्ने दाबी गरे । पहिलो पटक भएको यो प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ जित्नेछ । प्रतियोगिता बिना दर्शक हुँदै आएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार