सरकारहरू बिच समन्वयको अभाव भएको जनगुनासो, कैलाली उद्योग वाणिज्य सङ्घद्वारा सरोकारवालाहरूसँग छलफल

कोरोनाका सङ्क्रमित दिनानुदिन दिन बढ्दै

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा सरोकारवालाहरूसँग छलफल
सुदूर: सुदूरपश्चिम प्रदेशमा कोरोनाका सङ्क्रमित दिनानुदिन दिन बढ्न थालेका छन् । जनता अक्सिजन अभावमा तड्पिरहेका छन् । यही बेला तिन तहको सरकार बिच समन्वय अभाव भइरहेको भन्ने जनगुनासो बढेपछि कैलाली उद्योग वाणिज्य सङ्घले सरोकारवालाहरूसँग सोमबार छलफल गरेको छ । योजना बनाएर एकद्धार प्रणालीबाट कोरोना रोकथाममा जुट्न र कोरोना रोकथाममा समन्वय गरेर अघि बढ्न आग्रह गर्दै सरोकारवालाहरूसँग छलफल गरिएको उद्योग वाणिज्य सङ्घ कैलालीले जनाएको छ ।
सो छलफल कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका प्रबक्ता प्रकाश बहादुर शाहले प्रदेश सरकारले कोष स्थापना गरेर कोरोना रोकथामका लागि विभिन्न कामहरू गर्दै आइरहेको बताउनुभएको छ । उहाँले हाल सम्म प्रदेश सरकारले ६९ करोड रुपैयाँ प्रदेशको कोरोना रोकथाम तथा न्यूनीकरणका लागि खर्च गरिसकेको बताउनुभएको छ ।
केन्द्र सरकारसँग प्रदेश सरकारको कुनै पनि विवाद नरहेको भन्दै उहाँले समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारले सुरुवातबाटै कोरोना रोकथामका लागि थुप्रै कामहरू सुरु गर्न खोजेको भए पनि खरिद प्रक्रिया ढिलो हुनु र मन्त्रालयका कर्मचारीहरूको ढिलासुस्तीका कारण अपेक्षित रूपमा प्रदेश सरकारको काम देखिन नसकेको बताउनुभएको छ ।
नागरिक समाज कैलालीका संयोजक प्रमोद पाठकले यो समय एकले अर्कोलाई दोष आरोप लगाउन भन्दा सबै मिलेर जनताको ज्यान कसरी जोगाउने भन्ने तर्फ केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले बेड अभावमा सेतीमा आएका बिरामीलाई अस्पताल बाहिर राखेर पनि उपचार गरिरहेको बताउनुभएको छ । तर, ती बिरामीहरूलाई अहिले तत्काल अक्सिजनको अति आवश्यकता देखिएको बताउनुभएको छ ।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले कोरोना सङ्क्रमित र अन्य बिरामीको एकै अस्पतालमा राखेर उपचार गर्दा कोरोनाको सङ्क्रमण बढेर जाने खतरा बढिरहेकोले कोरोना बिरामीलाई गेटा मेडिकल कलेजमा राख्ने प्रबन्ध मिलाउन तिन तहकै सरकार लाग्न पर्ने बताउनुभएको छ । महामारीका बेला सरकारमा रहेका व्यक्तिहरूले पार्टीगत र व्यक्तिगत असन्तुष्टलाई बिर्सेर जनताको हितका लागि सोच्न जरुरी रहेको नागरिक समाजका अगुवाहरूले पनि बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले अहिले देश महामारीसँग जुधिरहेका बेला तिन तहका सरकारबिच समन्वय अभाव हुँदा मार जनतामा परिरहेको बताउनुभएको छ । उहाँले तिन तहको समन्वयका लागि सोमबार सबै निकायलाई राखेर छलफल गरिएको बताउनुभएको छ ।
छलफल बाट अब प्रदेशमा कोरोना न्यूनीकरणका लागि थप प्रयासहरू कसरी अघि बढाउने भन्ने कुराको निष्कर्षमा पुगिने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार