असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने

रोकिएका परीक्षा सञ्चालन गर्ने तरखर

परीक्षा

काठमाडौँ : कोरोना संक्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको हो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएममी) सँग स्वीकृति मागेको छ । असारको अन्तिम साता परीक्षा सञ्चालन गर्न स्वीकृति मागिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । ‘गत वर्ष नै परीक्षा सकेर पठनपाठन सुरु भइसक्नुपर्ने हो, अहिलेसम्म हुन सकेन,’ उनले भने, ‘निषेधाज्ञा कायम नै रहे पनि परीक्षा गर्ने गरी अनुमति मागेका छौं ।’ प्रवेशपत्रका आधारमा विद्यार्थीलाई आउनेजाने अनुमति दिने व्यवस्थासहित असार २६ गतेबाट परीक्षा सञ्चालनको अनुमति मागिएको आयोगले जनाएको छ । जेठ पहिलो साता तोकिएको परीक्षा स्थगित भएको थियो । करिब ३३ हजार विद्यार्थीले परीक्षा दिन आवेदन दिएका छन् ।

अवस्था सहज रहे असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै लिन थालेका छन् । साउन मसान्तसम्म कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तयारी छ । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सामान्य अवस्थामा असार मसान्तसम्म परीक्षा लिनुपर्छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले संक्रमण दर घट्दै गए विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने जनाए । ‘यही बेला परीक्षा लिनु भन्न सक्ने अवस्था छैन, भदौअघि कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विद्यालयले आफ्नै निर्णयमा परीक्षा लिन सक्छन् ।’

बोर्डले कक्षा ११ का विद्यार्थीलाई एक साताभित्र सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जनाएको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको अर्यालले जनाए । ‘कुनै निर्णय त भएको छैन, तर विज्ञहरूको रायसुझावअनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्ने नै भन्ने छ,’ उनले भने । गत वर्ष घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक पनि कक्षा १२ को परीक्षाका लागि अनलाइनबाटै देशभरका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । भदौमा परीक्षा सञ्चालन गर्न सके दसैं, तिहार पछाडि सामान्य अवस्थामा झैं विश्वविद्यालयहरूले स्नातक तहको नयाँ शैक्षिक सत्र थाल्न पाउने विज्ञहरू बताउँछन् । गत जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । करिब ४ लाख विद्यार्थी १२ को परीक्षाको तयारीमा छन् । असार १५ गतेसम्मको अवस्था हेरेर परीक्षाको मोडालिटीबारे निर्क्योल गरिने सदस्यसचिव अर्यालले जनाए । सकभर भौतिक उपस्थितिमा र नभए अरू विकल्पमा पनि परीक्षा सञ्चालनका लागि योजना बनाइएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले निषेधाज्ञाकै बीच स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन फाराम आह्वान गरेको छ । असार ७ गतेसम्म फाराम भर्न सकिने म्याद तोकिएको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले परीक्षाको पूर्व तयारीका लागि सबै तहको परीक्षा आवेदन फाराम संकलनको काम भइरहेको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयलाई सहज अवस्था हुनेबित्तिकै परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन निर्देशन दिइएको उनले जनाए । ‘भर्चुअल विधिबाट पठनपाठन भइरहेको छ, रोकिएका परीक्षा सञ्चालनका लागि पनि गृहकार्य भइरहेको छ,’ उनले भने । निषेधाज्ञा हटे असार अन्तिम सातादेखि परीक्षा सञ्चालन गर्न सकिने त्रिविले जनाएको छ । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार