धनगढी उप-महानगरपालिकाले ल्यायो १ अर्ब ८१ करोड बजेट, कुन-कुन क्षेत्र परे मुख्य प्राथमिकतामा ?

वार्षिक नीति , कार्यक्रम तथा बजेट मंगलबार सातौँ नगर सभामा पेस

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८१ करोड बजेट

धनगढी: धनगढी उप–महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति , कार्यक्रम तथा बजेट मंगलबार सातौँ नगर सभामा पेस गरेको छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगर सभामा पेस गरेको बजेट १ अर्ब ८१ करोड २८ लाख २२ हजार १ सय रहेको छ । जसमध्ये चालुतर्फ १ अरब २ करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड, ४७ लाख ५१ हजार रहेको छ ।

बजेट तथा कार्यक्रमले कोभिड १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन , स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि , शिक्षा तथा रोजगारी , पूर्वाधार निर्माण तथा दिगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास ,उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसाधन तथा संस्थागत सुशासन , सामाजिक विकास तथा गरिबी निवारण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

कृषि तर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्यको व्यवस्था गर्ने, सामुदायिक बनमा जडीबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको व्यवस्था गरिने नीति दिएको छ । पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु बिमा लगायतका कार्यक्रम समेटिएका छन् ।

पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको प्रवर्द्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यसै गरी सामाजिक विकास तर्फ बालबालिका किशोर किशोरी सँग उप–मेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ट शिक्षक सम्मान, बाल विकास शिक्षक, सामुदायिक सिकाईकेन्द्रका कर्मचारीहरूलाई केन्द्रले तोकेको तलबमा अपुग रकम थप गर्ने नीति लिएको छ ।

त्यसै गरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानुनी मामिला तथा न्यायिक निरूपण लगायतका क्षेत्रहरूलाई समेट्ने गरी नीति तर्जुमा गरेको छ ।

नगरप्रमुख नृपबहादुर वडले सीमित श्रोत साधनका बिच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको बताए । उनले भने, ‘ हामी छलफलमै छौँ समेट्न नसकेका विषय समेटेर लैजान्छौँ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले निकै मेहनतका साथ स्थानीयतहले अवलम्बन गर्ने सबै प्रक्रिया पुरा गरेर, नगरवासीका मागहरूलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको बत्ताइन ।

उनले भनिन्, नीति, कार्यक्रम र बजेट तयार पार्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सदस्य सचिव हरी बहादुर चन्दले वार्षिक नीति , कार्यक्रम तथा बजेट माथिको छलफल जारी रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार