महामारी होस् या बाढी पहिरो, दर्शकले नै ‘स्टार’ बनाएका कलाकारहरू को कहिल्यै मन पग्लिएन !

नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद

महामारी होस् या बाढी पहिरो, कहिल्यै मन पग्लिएन

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ खुबै भेटिन्छ ।अझ, चलचित्रकर्मी त प्रचारका लोभी हुन्छन् । सामाजिक कार्यलाई प्रचार गरेर मिडियामा तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् ।

तर, कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ । चलचित्र रिलिजको बेलामा दर्शकलाई ‘भगवान’ भन्दै हलसम्म आउन नमस्कार गर्ने चलचित्रकर्मी तीनै दर्शकलाई आपत्त पर्दा कती सक्रिय हुन्छन् ? यसले पनि अर्थ राख्छ ।

नेपालले विगत डेढ बर्षदेखि कोरोनाको महामारी भोगिरहेको छ । केही दिन अगाडि मात्र बाढी पहिरोका कारण देशका धेरै ठाउँका मानिसहरु समस्यामा परेका छन् । यस्तो समयमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीले देखाएको सक्रियता प्रशंसायोग्य छ ।

अक्सिन अभावमा अक्सिन संकलन र वितरणमा सक्रियतादेखि खानेकुरा वितरण, बाढी प्रभावितलाई सहयोग वितरणमा कलाकारको सक्रियता देखियो । चलचित्र क्षेत्रमै रहेर समस्यामा परेका प्राविधिकरुलाई आर्थिकदेखि खाद्यन्न सहयोगमा पनि थुप्रै कलाकार सक्रिय रुपमा लागे ।

तर, नेपाली चलचित्र क्षेत्रका केही स्टार कलाकारको मौनता महामारीमा पनि उदेकलाग्दो देखियो । दर्शकले नै स्टार बनाएका कलाकारहरुले भौतिक रुपमा आफ्नो उपस्थिती त यो समयमा बनाउन सकेनन् नै, सामाजिक संजालमा पनि उनीहरुले यो बिषयलाई खासै महत्व नदेखिएको देखियो ।

कुनै पनि बिषयमा आवाज उठाउनेदेखि महामारी र बाढी पहिरोको समयमा दर्शकलाई आफू भएको महशुश गराउन धेरै स्टारहरु चुके ।नायक अनमोल केसीलाई चलचित्र क्षेत्रले ‘मेगास्टार’ भन्ने गरेको छ । नेपाली चलचित्रमा सर्वाधिक महंगो पारिश्रमिक लिने नायक हुन् उनी ।

तर, महामारी, लकडाउन, बाढी पहिरोको समयमा पनि अनमोल सामाजिक संजाल र भौतिक रुपमा खासै सक्रिय देखिएनन् । बरु, उनी सामाजिक संजालमा विभिन्न विज्ञापनका पोष्टहरु राख्दै प्रमोशनमा नै सक्रिय देखिए । चलचित्र प्राविधिकहरुलाई राहत वितरणमा थुप्रै कलाकार सक्रिय रहँदा उनी यसमा पहिलो चरणको लकडाउन र दोश्रो चरणको निषेधाज्ञामा पनि मौन नै रहे ।

नायक प्रदिप खड्काको सक्रियता पनि यो पाटोमा खासै देखिएन । नेपाली चलचित्र सर्वाधिक महंगो पारिश्रमिक लिने अर्का नायक हुन् प्रदिप । चलचित्र ‘प्रकाश’को छायांकन सकेर काठमाण्डौ फर्किएको भोलीपल्ट नै निषेधाज्ञा भएपछि प्रदिप पनि घरमै रहे । तर, उनको सक्रियता न त सामाजिक संजाल न त भौतिक रुपमा नै देखियो ।

नेपाली चलचित्र क्षेत्रमा ‘स्टार’ नायक भनिने गरेका प्रदिपको मौनता पनि उदेकलाग्दो नै थियो ।नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यो समयमा मौन नै रहिन् । सामाजिक संजालबाट अनलाइन कपडा विक्री गर्दै आएकी साम्राज्ञीको यो समयमा पहिरनकै प्रमोशनका तस्वीर बढी देखियो ।

भौतिक रुपमा कुनै पनि समयमा सक्रिय नदेखिएकी यी नायिकाले सामाजिक संजालबाट जनचेतना जगाउने, कुनै पनि बिषयमा आवाज उठाउने गरेको खासै पाइदैन । उनी, नेपाली चलचित्रकी सर्वाधिक महंगी नायिका हुन् । केही समय अगाडि कमेडियन आदर्श मिश्राले नेपाली कलाकारले विज्ञापनको प्रमोशनका लागि सामाजिक संजाललाई प्रशस्त समय खर्च गरेपनि कुनै पनि सामाजिक मुद्दामा एउटा पोष्ट गर्न पनि सकस मान्ने गरेको बताएका थिए ।

यसपटक, धेरै कलाकारबाट दर्शकले पनि यस्तै महशुश गरेका छन् । नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद हो । -अनलाइन खबर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार