यस कारण ‘नागरिक एप’ भित्र समेटिएका छैनन् बैतडीको पुर्चौडीका नागरिकका नागरिकता, कमजोरी कसको ?

हिउँद कुर्दै कर्मचारी !

नागरिक एपमा अझै दर्ता भएनन् बैतडीको पुर्चौडीका नागरिकका नागरिकता

धनगढी: नेपाल सरकारले २०७७ माघ २ गते शुक्रवारबाट सरकारले प्रदान गर्ने सार्वजनिक सेवालाई सरल, पारदर्शी, छिटो, छरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको थियो ।

नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।

राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायमा सेवा लिनका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने, यसबाट नागरिकको समय बचत हुने, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भ्रष्ट्राचार न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ । भने यो एप हरेक नेपाली नागरिकले सहजै प्रयोग गर्न सक्ने गरी तयार पारिएको समेत बताइएको छ ।

तर, एप सञ्चालनको लामो समय बिती सक्दा समेत बैतडीको पुर्चौडीका कयौँ युवा पुस्ता अझै नागरिक एपको पहुँच भन्दा बाहिर रहेका छन् । पुर्चौडी नगर क्षेत्र तथा पुर्चौडी इलाका प्रशासन कार्यालयबाट हस्तलिखित पर्णालिबाट सेवा लिने अर्थात् नागरिकता  बनाउने युवापुस्ताहरू नागरिक एपमा आफ्नो नागरिकता दर्ता नभएकै कारण नागरिक एपको पहुँच बाहिर रहेका हुन् ।

पुर्चौडीका कयौँ नागरिकलाई त नागरिक एपको बारेमा कुनै जानकारी नै छैन भने, नागरिक एपबाट सेवा लिन चाहने र इ-मेल इन्टरनेट बुझेका, समयको सदुपयोग गरी सरकारले प्रदान गर्ने सेवाहरू पारदर्शी ढङ्गले उपभोग गर्ने चाहने इच्छा शक्ति भएका युवाहरूको आफ्नो नागरिकता एपमा दर्ता नभएकै कारण सो सेवा बाट वञ्चित हुनुपरेको गुनासो रहेको छ ।

एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बर हुनुपर्ने अनिवार्य गरिएको छ । मोबाइल नम्बर राखिसकेपछि नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रूपमा पत्ता लगाउने गरी प्रविधिको विकास गरिएको छ ।  एपमा सेवा लिनका लागि मोबाइल नम्बर मागिन्छ । मोबाइल नम्बर दिएपछि त्यो मोबाइल नम्बरमा  ६ वटा नम्बरको कोड पठाइन्छ । त्यो कोड राखेपछि परिचयपत्रको प्रकार छनोट गर्ने सुविधा हुन्छ । जसमा नागरिकता, मतदाता र राहदानीको परिचयपत्र छनोट गर्न सक्ने सुविधा रहेको छ ।

तर, मतदाता, राहदानी परिचय पत्र नभएका र मतदाता परिचयपत्रको लागी फारम भरेका तर मतदाता परिचयपत्र प्राप्त नगरेका पुर्चौडीका नागरिक विशेष गरी पुर्चौडी इलाका प्रशासन कार्यालयबाट नव हस्तलिखित नागरिकताको प्रमाणपत्र लिएका युवा/युवतीहरूले नागरिक एपमा आफ्नो नागरिकता नभेट्ने समस्या बढ्दो छ ।

यता जिल्ला प्रशासन कार्यालय बैतडीको नागरिकता शाखामा कार्यरत कम्प्युटर अपरेटर सुरेन्द्र देब भट्टले भने पुर्चौडी इलाका प्रशासन कार्यालय खुले पश्चात् त्यहाँबाट हस्तलिखित प्रणाली मार्फत नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरूले त्यस्तो समस्या भोग्नुपरेको स्विकार्नुभएको छ ।

भट्टले सो समस्या इन्टरनेटको अभावले गर्दा श्रीर्जना भएको स्विकार्दै पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना पूर्वका सबै नागरिकताहरू नागरिक एपमा प्रविष्टि (दर्ता) भएको र इन्टरनेटको अभावका कारण स्थापना पश्चताका दिइएका सेवाहरू र जारी गरिएका नागरिकताहरू  नागरिक एपमा दर्ता गर्न नसकिएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘पुर्चौडी क्षेत्रमा इन्टरनेटको अभाव छ । इन्टरनेटको अभावका कारण स्थापना पश्चताका दिइएका सेवाहरू र जारी गरिएका नागरिकताहरू  नागरिक एपमा दर्ता गर्न सकेका छैनौँ । त्यो भन्दा पहिलेका सबै दर्ता गरी सकेका छौँ तर हस्तलिखित प्रणालीबाट जारी गरिएका नागरिकता भने दर्ता गर्न सकिएको छैन ।’

त्यस्तै, ‘अहिले बर्खाको समय छ । त्यहाँ हामी कुनै एउटा कार्यालयको पहलले इन्टरनेट पुर्‍याउन सक्दैनौ । हामीले यहाँ जिल्ला प्रशासन कार्यालयबाट पुर्चौडी नगरपालिका तथा नगरपालिकाका मेयर साबलाई इन्टरनेटको व्यवस्था गरिदिन आग्रह गरेका थियौँ । तर खै उहाँले पनि सक्नुभएन ।’ भट्टले भन्नुभयो ।

भट्टले समस्या समाधान कहिले हुन्छ त ? भन्ने प्रश्नको जवाफ दिँदै, अहिले सम्म पुर्चौडी इलाका प्रशासन कार्यालयबाट हस्तलिखित सेवाहरू नै प्रदान गरिँदै आएको छ । यो बर्खाको समयमा समस्या समाधान हुने सम्भावना कम छ । अब यो बर्खा सकिएपछि दसैँ पछि, पुस तिर के हुन्छ ? त्यहाँ बाट प्रदान गरिएका सेवाहरू र जारी गरिएका नागरिकताबारे सम्पूर्ण जानकारी गृह मन्त्रालयले तान्न सक्यो भने मात्रै नागरिक एपमा दर्ता हुने हो । त्यसको लागी इन्टरनेट छैन । त्यसैले तत्कालै समाधान हुने समस्या यो होइन यसकालागि अलिक धेरै नै कुर्नु पर्ला । जाडो, सुख्खा मौसममा केही गर्न सकिन्छ कि ? उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार