दार्चुला घटना: सूचना विश्लेषण गर्दै छानबिन समिति, एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शीलाई धम्की

ब्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते बेपत्ता

दार्चुला घटना

दार्चुला: तुईनको साहारामा महाकाली नदी तर्ने बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि ब्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते बेपत्ता हुनुभयो । एसएसबीले तुईन फुकालेकै कारण धामी बेपत्ता भएको भन्दै प्रत्यक्षदर्शी र स्थानीयहरुले बयान दिएपछि घटनाको छानविनका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समिति गत मंगलबारदेखि दार्चुलामा छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले घटनास्थलको अवलोकन, प्रत्यक्षदर्शीका बयान, पीडित परिवारका कुराहरु सुन्ने र सरोकारवालाहरुबाट सुझाब संकलन गर्ने काम गरिरहेको छ । समितिले शुक्रबार तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ ।

टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत) को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताउनुभयो । सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्तीले श्रीमानलाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गरेको छानविन समितिले जनाएको छ । जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थाल्नुभएको छ । बेपत्ता धामीको परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ ।

छानविन समितिले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरिसकेको छ । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । बयान लिएपछि प्रतक्षदर्शीलाई गाउँ पठाइएको छ ।

साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको छ । छानविन टोलीले सूचना संकलन तथा विश्लेषण गरिरहेको बताएको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको बताउँदै टोलीका संयोजक गौतमले भन्नुभयो, सूचना संकलन गर्ने काम जारी छ, प्राप्त सूचनाहरु विश्लेषण गरेर चाडै रिपोर्ट बुझाउँछौँ । स्थानीय तथा प्रतक्षदर्शीले मालघाटमा एसएसबीले तुइन फुकालिदिदा धामी महाकालीमा बेपत्ता भएको बताएपनि भारत पक्षले सो घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरिरहेको छ ।

बेपत्ता धामीको परिवारलाई विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक गौतमले पीडित परिवारलाई १० हजार सहयोग गर्नुभयो । व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गर्नुभएको छ ।

  • एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शीलाई धम्की

एसएसबीले तुईन फुकालेको बयान नदिन प्रतक्षदर्शीहरुलाई धम्की आइरहेको छ । २१ वर्षदेखि महाकालीमा तुईन सञ्चालन गर्दै आएका प्रतक्षदर्शी कल्यानसिंह धामीले भन्नुभयो, घटना भएको दिनदेखि फोन आएर झन् धेरै तनाव भएको छ । जयसिंह बेपत्ता हुनुमा एसएसबीको दोष छ, यो कुरा म सुरुदेखि नै भनिरहेको छु । छानबिन समितिको बयानमा पनि त्यही भनेको छु ।

हामी तीनैजना प्रत्यक्षदर्शीको लगभग एउटै बयान छ । तुइनको डोरी फुकाउने एसएसबीका आफन्तहरूले फोन गरेर धम्की दिइरहेका छन् । धामीले भन्नुभयो, फोन गरेर अब भारतीय बाटो कहिल्यै नहिँड्ने हो ? कि हिँड्ने हो ? भनेर उनीहरू पारिबाट फोन गरिरहेका छन् । एसएसबीलाई बचाउन निरन्तर फोनमार्फत धम्की आउन थालेपछि मोबाइल नै बन्द गर्ने गरेको उहाँले बताउनुभयो ।

उनीहरूले एसएसबीलाई बचाइदिनुप-यो, त्यो दिन हामीले उनीहरूलाई गस्ती आएको देखेकै छैन भनेर बयान देऊ भन्छन, तर, उनीहरूले धम्की दियो भन्दैमा म सत्य कुरा कसरी लुकाउ, धामीले भन्नुभयो । बरु भारतको बाटो नहिँडौँला, नेपालबाटै हिँडौँला । मर्नुपरे पनि बाँच्नुपरे पनि आफ्नो भूमि छँदै छ । आफ्नै आँखाअगाडि देखेको कुरालाई परिवर्तन नगर्ने प्रतक्षदर्शी धामीको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार