मोदीका विश्वासपात्रको दौडाहा, नेपालका शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र

मोदीका विश्वासपात्रको दौडाहा

काठमाडौँ : नेपालमा नयाँ सरकार गठन भएसँगै नेपाल भ्रमणका आएका भारतीय सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ का रूपमा चारदिने भ्रमणमा आएका चौथाइवालेले सोमबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनीहरूकै निजी निवासमा पुगेर भेटवार्ता गरे । उनले आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटार भेटवार्ता गरेका थिए ।

चौथाइवालेले एक ट्वीट गर्दै आफूले पछिल्लो २४ घण्टामा नेपालका शीर्ष चार नेतासँगको भेटवार्ता गरेको उल्लेख गरेका छन् । ‘उनीहरूले पार्टी–पार्टी बीचमा लगातार संवाद गर्ने चाहना पनि व्यक्त गरेका छन्,’ चौथाइवालेले ट्वीटमा लेखेका छन् । प्रधानमन्त्री देउवासँगको भेटबारे उल्लेख गर्दै कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले ‘दुई देश र पार्टीबीचको सम्बन्धलाई अघि बढाउने’ विषयमा छलफल भएको बताए । एमालेका एक नेताका अनुसार ओलीसँगको कुराकानीमा उनले सम्बन्ध सुधारका विषयमा जोड दिएका थिए ।

त्यस्तै, दाहाल र चौथाइवालेबीच नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उनले ठाकुरलाई नयाँ पार्टी गठन गरेकोमा बधाई दिँदै दुई मुलुकबीच सहकार्य गर्ने विषयमा जोड दिएका थिए । नेपालमा ओली नेतृत्वको सरकार रहँदा भारतले सांकेतिक रूपमा ओलीलाई नै सत्तामा रहेको हेर्न चाहेको थियो । तर साउन २८ को सर्वोच्व अदालतको फैसलापछि नयाँ सरकार बनेपछि भारतको छिमेकी नीतिमा फरक महसुस भएको छ ।

सुरुमा मोदी सरकार र ओली सरकारबीच ‘पानी बारबारकै सम्बन्ध’ थियो । ओलीले हरेक भाषणमार्फत भारतलाई गाली गर्थे । तर तत्कालीन नेकपाभित्रको विवाद र आफ्नै पार्टीका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता छाड्न ओलीलाई दबाब दिएपछि उनी भारतसँग नजिकिए । त्यसलाई दाहाल र नेपाल चिनियाँ नेतृत्वसँग नजिकिएको रूपमा अर्थ्याइयो । सरकार गठनताका चीनसँग निकट ठानिएका ओली बाहिरिँदा भारतनिकट भए । २०७७ जेठमा नेपालले कालापानी, लिपुलेकसहितको चुच्चे नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो ।

भूराजनीतिक मामिलाका जानकार प्राध्यापक श्रीधर खत्री पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीले मात्र नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्दै आएकोमा यसपटक भारतले पनि त्यसलाई निरन्तरता दिन खोजेको मान्छन् । उनले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको काठमाडौं भ्रमणले मोदीलाई छिमेक नीतिमा निर्णय गर्दा भारतको कर्मचारीतन्त्र, सुरक्षा निकायबाट मात्र होइन, पार्टीकातर्फबाट पनि नेपालको परिवेशको आंकलन गरेर सहयोग गर्न खोजेको देखिने बताए । ‘भारतमा अरू पार्टीको भए पनि त्यो कर्मचारीतन्त्रकै प्रक्रियाबाट विदेश मामिलामा गृहकार्य हुन्थ्यो । तर अहिले भाजपाबाट पनि विदेश मामिलामा प्रधानमन्त्री मोदीलाई सहयोग गर्न गृहकार्य भएको देखिन्छ,’ उनले भने, ‘भारतले नेपालमा के कसो भइरहेको छ भनेर नाडी छाम्न प्रतिनिधि पठाएको हो ।’

असार २८ गते नेपालका ५ पूर्वप्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन ओली सरकारलाई भारतको साथ रहेको भन्दै सांकेतिक रूपमा विरोध जनाएका थिए । जसलाई लिएर भारत र पाँच पूर्वप्रधानमन्त्रीहरू देउवा, दाहाल, नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीचको सम्बन्धमा चिसोपना आएको थियो । काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित साउथ–ब्लकले नेपालका पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्तिलाई लिएर आन्तरिक रूपमा असन्तुष्टि जनाएको थियो । -कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार