नेपालले यू-१९ विश्वकप खेल्न नपाउने

एकदिवसिय विश्वकप खेल्न नपाउने

क्रिकेट

काठमाडौं: नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ ।

यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको जनाएको छ । यू१९ एसियाको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने यस अघिनै चर्चा थियो ।

यू१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा एसिया यू१९ छनोटबाट युएईले सिधै यू१९ विश्वकपमा स्थान बनाएको छ । अमेरिका छनोइएटटर्फबाट क्यानडा र इएपिए छनोटबाट पपुपा न्युगिनी २०२२ को यू१९ विश्वकपमा स्वत छनोट भएका छन् । आइसिसीले पछिल्ला पाँच यू१९ विश्वकप छनोटको प्रदर्शन हेर्दा टोली छनोट गरेको जनाएको छ ।

आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए । पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई दुई पटक विश्वकप सहभागिता जनाएका थिए। नेपाल २०१३ छनोटमा युएईसँग सेमिफाइनलमा पराजित भएको थियो । अन्तिम पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बनेको थियो । जसले गर्दा यूएई विश्वकपमा पुगेको हो । युएईसँग खेलेका कुल १० खेलमा नेपालले ८ खेलमा जित्दा २ खेलमा पराजित भएको छ । तर २ हार भने महत्त्वपूर्ण मोडमा रहेका थिए ।

२०१९ मा मलेसियामा भएको यू१९ विश्वकप एसिया छनोटमा यूएई ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाको कारण डकवर्थ लेबिस पद्धतिको आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्यो ।

२०१७ को एसिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । उक्त छनोटमा यूएईले सहभागिता नै जनाएको थिएन । २०१४ को यू१९ विश्वकपको लागि मलेसियामा भएको यू१९ इलिट कपको सेमिफाइनलमा नेपाल यूएईसँग ७६ रनले पराजित भएको थियो । फाइनलमा अफगानिस्तानसँग युएई १० विकेटले पराजित भएको थियो । तर विश्वकप आयोजकको रुपमा यूएईले पहिलो पटक यू१९ विश्वकप खेलेको थियो ।

नेपाल २०१२ मा १३ औं र २०१६ को यू१९ विश्वकपमा आठौं स्थानमा रहँदै बाहिरिएको थियो । २०१४ मा यूएईले घरेलु मैदानमा आयोजना गरेको हुँदा स्वतः छनोट भएको थियो । २०२० को विश्वकप नेपाललाई पछि पार्दै खेलेको थियो । यूएईले दुई पटक मात्र यू१९ विश्वकपमा सहभागिता जनाउँदा नेपालले ७ पटक खेलेको छ ।

नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । पछिल्लो समय घरेलु क्रिकेटमा देखिएका नयाँ अनुहारनै झनै उत्साह, खुसी र सम्भावना देखाएका थिए । तर छनोटनै नहुने अवस्थाम पुगेपछि पुन: निराशा छाएको छ । -हाम्रो खेलकुदबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार