३३ वर्ष देखी भारतमा बेपत्ता कैलालीका लोकेन्द्रको उद्धार, यसरी भयो परिवार सँग पुनर्मिलन ?

भारतीय पक्षसँग समन्वय गरी उद्धार

भारतमा बेपत्ता कैलालीका लोकेन्द्रको ३३ बर्षपछि परिवारसँग पुनर्मिलन
तस्बिर : जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी : ३३ वर्षदेखि बेपत्ता कैलालीका लोकुन डगौरा थारुको भारतबाट उद्धार गरिएको छ । ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि बेपत्ता अवस्थामा रहेको उनलाई फेला परी उद्धार गरिएको हो ।

जिल्ला जानकी गाउँपालिका वडा नम्बर ७ टिकलीगढ घर भएका वर्ष ६२ का लोकेन्द्र भनिने लोकुन डगौराको उद्धार गरी कैलाली प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले परिवार सँग लोकुन डगौरा थारुको पुनर्मिलन गराएको हो । भारतको विहारमा फेला परेका उनलाई भारतीय पक्षसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

  • यसरी भयो लोकेन्द्रको पुनर्मिलन ?

२०७८ भाद्र ९ गते प्रहरी परिसर टेकु काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट उनी भारतको विहारमा फेला परेको र उनले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको भन्ने बुझिएकोले तत्काल भारतीय पक्षसँग समन्वय गरी उद्धार गर्न कैलाली प्रहरीलाई जानकारी गराएको थियो ।

कैलाली प्रहरीले भारत विहार राज्य गया जिल्ला बारा चट्टी बस्ने सन्दीप यादव मार्फत डगौरा थारुसङ सम्पर्क स्थापित गरिएको थियो । हालको अवस्थामा लोकन डगौरा थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेता पनि उनीसङ भिडियो फोनमा कैलालीका प्रहरी प्रमुख अधिकारीले कुराकानी गर्दा उनले आफ्नो घर टिकापुरको मुनुवा आसपास भनेका थिए ।

निजको फोटो सहित उक्त गाउँघरमा निजको घर तथा आफन्तजन पत्ता लगाउन इलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको थियो । उनलाई संदिप यादवले गया स्थित नेशनल हाइवेमा फेला पारेपछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए  । तर उनी त्यहाँबाट हिँडेकोमा सन्दीप यादवले पुनः खोजतलास गरी आफ्नो घरमा राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनको घर ठेगाना र आफन्तको यकिन गरेपछि भारतीय प्रहरी र संदिप यादवको सहयोगमा डगौरा थारुलाई जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाइएको थियो । बेपत्ता लोकुन डगौरा थारुका छोरा र प्रहरीलाई पठाएर पर्साबाट उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएकोमा बिहीबार उनका छोरा राम बहादुर डगौरालाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार