सुदूरका ९ लाख बढी नागरिकले लगाए कोरोना विरुद्धको खोप

कोरोनाको खोप

धनगढी:  सुदूरपश्चिम प्रदेशमा नौ लाखभन्दा बढी नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । सामाजिक विकास मन्त्रालयको भदौं १६ गतेसम्मको तथ्याङ्क अनुसार प्रदेश भरि कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या नौ लाख सात हजार ७३ पुगेको हो ।

कुल २५ लाख ५२ हजार ५१७ जनसङ्ख्या रहेको यो प्रदेशमा हालसम्म कुल जनसङ्ख्याको ३५.५३ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिइएको छ । तर, प्रदेशभरि कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य व्यक्तिको सङ्ख्या करिब २१ लाख रहेको मन्त्रालयले जनाएको छ । त्यसो हो भने खोप लगाउन योग्य जम्मा जनसङ्ख्यामध्ये हालसम्म ४३.१९ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार कैलालीमा हालसम्म तीन लाख १५ हजार एक, कञ्चनपुरमा एक लाख ७१ हजार ९५८ जनाले खोप लगाएका छन् । यस्तै, बाजुरामा ३१ हजार २९०, बझाङमा ६२ हजार ५३४, दार्चुलामा ५६ हजार २०, बैतडीमा ८३ हजार ३५१, डडेल्धुरामा ३८ हजार ७२६, डोटीमा ७० हजार ८७८ र अछाममा ७७ हजार ३१५ जनाले खोप लगाएका छन् ।

प्रदेशभरि हालसम्म चार लाख १० हजार ३३ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख ५५ हजार ५१० जनाले पूर्ण खोप पाएका छन् । यसैगरी, कञ्चनपुरमा ८७ हजार ५८, बाजुरामा सात हजार २१३, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

यस्तै, बैतडीमा ३५ हजार ५२६, डडेल्धुरामा १२ हजार १६२, डोटीमा ३१ हजार ३८९ र अछाममा ३० हजार ६७० जनाले पूर्ण खोप लगाइसकेका छन् । प्रदेशभरि भेरोसेल, कोभिशिल्ड गरेर तीन लाख पाँच हजार ५५५ जनालाई दुवै डोज दिइएको छ । भने, एकमात्र डोज खोप लगाए पुग्ने जोन्सन एण्ड जोन्सन एक लाख ३३ हजार ३८४ जनालाई लगाइएको छ ।

कैलालीमा ४८ हजार ४५७, कञ्चनपुरमा २७ हजार ४००, बाजुरमा एक हजार ८७८, बझाङमा नौ हजार ६६, दार्चुलामा ४ हजार ९४४, बैतडीमा १२ हजार ३९६ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । यसैगरी, डडेल्धुरामा छ हजार ८१६, डोटीमा नौ हजार ९९७ र अछाममा १२ हजार ४३० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

पछिल्लो समय विद्यार्थीलाई लक्षित गरेर अस्ट्रजेनिका खोप लगाउन थालिएको छ । यसैगरी, कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि दोस्रो डोजको रुपमा अस्ट्रजेनिका खोप दिइदैंछ । यो प्रदेशमा हालसम्म २० हजार ३७७ जनाले अष्ट्रजेनिका खोप लगाइसकेका छन् ।

‘पछिल्लो समय विद्यार्थीलाई लक्षित गरेर कोरोनाविरुद्धको खोप लगाउने कार्य भइरहेको छ’, मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘खोप अभियान निरन्तर जारी रहेको छ ।’ यो प्रदेशमा गत माघबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, एम्बुलेन्स चालक लगायत अग्रपङ्तीमा खट्नेलाई खोप लगाइएको थियो । अब विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिने कार्य भइरहेको प्रवक्ता कार्कीले बताए ।

सुदूरपश्चिम प्रदेशमा दिइएको खोप प्रभावकारी रहेको छ । स्वास्थ्य मन्त्रालयले यो प्रदेशबाट दुई हजार ७०० सेम्पल सङ्कलन गरेर ‘एन्टिबडी’ परीक्षण गरेको थियो । पूर्ण डोज लगाएका ९० प्रतिशतमा ‘एन्टिबडी’ बनेको यसअघि नै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । पहिलेको तुलनामा हाल धेरै हद्सम्म कोरोना सङ्क्रमण दर घटेको कार्कीको भनाइ थियो । ‘अहिले सङ्क्रमण दर धेरै छैन’, उनले भने ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १६ हजार ३२१ जनाको परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या ५८५ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार