मनसुनी वायुको प्रभाव कायमै : काठमाडौँ बजार क्षेत्र डुबानमा, अरनिको राजमार्ग अवरूद्ध

बनेपाको पुल बजार क्षेत्र डुबानमा, अरनिको राजमार्ग अवरूद्ध

काठमाडौँ:  मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

आज दिउँसो प्रदेश-२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरनिको राजमार्ग अवरूद्ध

भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ । होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार