सुदूरपश्चिममा एमालेका २ मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।

दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ,’ शाहले भने।

विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए। सो समयमा केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए।

प्रदेश सरकारबाट फिर्ता हुन पार्टीले निर्देशन दिएकोमा निर्देशनको अवज्ञा गर्दै संसदीय दलका नेता शाहकै अगुवाइमा मन्त्रिपरिषद् विस्तार भएको थियो। तर दल विभाजन भएपछि भने शाह र गहतराजले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। सुदूरपश्चिम सरकारमा अब माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै सहभागिता छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार