बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

राष्ट्रिय जनगणना

बैतडी : बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ। विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको थियो।

पहिलो चरणमा  ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ। घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। विसं २०६८ मा जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो। “मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या थपियो भन्ने यकिन हुन्छ,” उनले भने। गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालन गरिएका थिए।

राष्ट्रिय जनगणना, २०७८ को मूल गणनाका लागि जिल्लामा ३१५ गणक छनोट भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनोट गरिएका हुन्। दशरथचन्द नगरपालिकामा ६५, पाटनमा ३६, मेलौलीमा २७ र पुर्चौंडी नगरपालिकामा ४० गणक खटाउने योजना छ। यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ तथा शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ।

“गणकसँगै पहिलो चरणको जनगणनामा काम गरेका ८० सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइने छ,” पन्तले भने। छनोट भएका गणकलाई आजदेखि कात्तिक १६ गतेसम्म तालिम प्रदान गरिनेछ। उनीहरूलाई जनगणनाका बेलामा सोधिने प्रश्नका विषयमा तालिम दिइने बताइएको छ।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा तथा डिलासैनी र दोगडाकेदार गाउँपालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन हुनेछ। यस्तै सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा तथा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुने कार्यालयले जनाएको छ। राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने बताइएको छ। यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना, २०७८’ रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार