बैतडीको चडेपानीका २०० घरमा खानेपानीको हाहाकार

पानी पिउनु
प्रतिकारात्मक फाइल तस्बिर

बैतडी : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।

पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीय केशवराज भट्टले बताए। गाउँमा दुई सातादेखि खानेपानीको अभाव भएको छ।

‘अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामी दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं‚’ उनले थपे, ‘गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो। खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ।’

खानेपानी अवरुद्ध हुँदा समेत दोगडाकेदार गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो नदिएको हो। चडेपानीमा २० किलोमिटर टाढाको मुहान धरमघरबाट खानेपानी ल्याइएकोमा उक्त खानेपानी समेत नआउँदा समस्या भएको हो।

यसअघि चडेपानीमा गत असार दोस्रो साता पनि पहिरोले खानेपानीको संरचनामा क्षति पुर्‍याएपछि खानेपानीको अभाव भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार