लम्कीका भूपेन्द्र बडूवाल हत्या प्रकरण, यसरी गर्‍यो कैलाली प्रहरीले अनुसन्धान (भिडियो)

भूपेन्द्र बडूवाल हत्या प्रकरण, यसरी गर्‍यो कैलाली प्रहरीले अनुसन्धान (भिडियो)

धनगढी : कैलालीको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या दुई अपराधिक समुहबीचको लडाइँका कारण भएको खुलेको छ ।

लामो समयदेखि एकअर्काका दुश्मन रहेका नविन रावल र जयन्द्र शाहको समुहबीचको लडाईका कारण यसवक भूपेन्द्रको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

भूपेन्द्रको गत कार्तिक २३ गते टीकापुरमा हत्या भएको थियो । एक महिना लामो अनुसन्धानपछि सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै भूपेन्द्र हत्या घटनाबारे विस्तृत जानकारी दिएको छ ।

सो हत्या घटनामा प्रहरीले २१ जना विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले सो हत्या घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिसकेको छ भने नौ जना अझै फरार छन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार प्रहरीले हत्या घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ का २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भनिने निशान्त मल्ललाई पक्राउ गरिसकेको छ ।

त्यस्तै, वडा नम्बर ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका वडा नम्बर १ का २३ वर्षीय प्रबिण रिमाल, बर्दिया राजापुरका २१ वर्षीय रोहित आले, टीकापुर नगरपालिका ब्लक नम्बर १४ का २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउपालिका वडा नम्बर २ झगडपुर का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा–३ गोदानाका २६ वर्षीय सन्तोष भनिने सविनजंग शाहीलाई पनि पक्राउ गरिएको छ ।

सो हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीका २७ वर्षीय नविन रावल, चिरञ्जीवीजंग शाही, हिमाल शाही, जानकी गाउपालिका वडा नम्बर ६ जगतपुरका जयन्द्र शाह, टीकापुर नगरपालिका वडा नम्बर १ का विकास शेरचन, लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का रोशनबहादुर शाही, टीकापुर नगरपालिका वडा नम्बर ६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर ५ का हेमन्त शाही अझैं फरार रहेका छन् ।

  •  कैलाली प्रहरीको अनुसन्धानबाट खुल्न आएको…

कैलालीको लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चश्व कायम गर्न विभिन्न अपराधिक समूह सक्रिय छन् । ती समुहमध्ये नविन रावलको एउटा समूह रहेको छ भने जयन्द्र शाहको अर्को समुह रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीका अनुसार सुरुमा नविन र जयन्द्र एउटै समूहमा रहेका थिए । केही समय अगाडि उनीहरुबीच मनमुटाव तथा आपसी वैमनश्यता बढेको थियो । आपसी बैमनस्यताबीच दुई समूहबीच पटकपटक एकअर्कामाथि आक्रमण आदि हुदै आएको थियो ।

भूपेन्द्रको हत्या अघि नै नविन र जयन्द्र समूहका सदस्यहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहतका प्रहरी इकाई कार्यालयहरु र काठमाडौमा गरी ज्यान मार्ने उद्योगमा छ र हातहतियार तथा खरखजाना सम्बन्धी दुई मुद्दा दर्ता भएको पाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनले भने– ती मुद्दामा आरोपितमध्ये कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार अवस्थामा छन् ।

२०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्रको समूहले नविन समूहका हिमाल शाहीमाथि खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो । त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन र उसको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ प्रहरी उपरीक्षक अधिकारीले भने– नविनलाई आक्रमण गर्ने योजना बनाउँदै कपिल कार्तिक २० गते काठमाडौंबाट लम्की आइपुगेको रहेछ ।

कार्तिक २३ गते नविन समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिलले आफ्ना समूहका युवालाई खबर गरेको अनुसन्धानका क्रममा खु्लेको छ । कपिलहरुले लम्की खेल मैदानमै नविन समुहमाथि आक्रमण गर्न खोजेको भए पनि त्यो सफल हुन सकेन ।

नविनले मदन शाहीमार्फत आफूमाथि आक्रमणको योजना बनेकोे जानकारी पाएको थियो । सो कुरा थाहा पाएपछि नविनले आफ्ना समूहका आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धिरज, रोहित र सोहनलाई लगेर टीकापुरतर्फ हिडेका थिए ।

प्रहरीका अनुसार नविन समूहले जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना बनाएको थियो । ‘टीकापुर क्षेत्रमा लुकी बसेको कपिल एक्लिएपछि लम्कीमा रहेका मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरेर बोलाएको रहेछ’ प्रहरी उपरीक्षक अधिकारीले भने– कपिलले बोलाएपछि भूपेन्द्र टीकापुर गयो । त्यहाँ नविन समूहले जयन्द्र समूहका व्यक्तिहरुमाथि आक्रमण गर्न हातहतियारसहित खोजीमा रहेको थियो । सो क्रममा भूपेन्द्र फेला परेपछि उनीमाथि आक्रमण भएको खुलेको छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार नविन समुहले भूपेन्द्रलाई झण्डै दुई किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक आक्रमण गरेको थियो । यस क्रममा आर्यन देवकोटा, चिरञ्जीबी शाही, रोशन शाही र रोहित आलेले भूपेन्द्रको पेट र छातीमा दुई पटक, पिठ्युमा तीन पटक र टाउको पछाडि एक पटक धारिलो हतियारले प्रहार गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

भूपेन्द्रमाथि आक्रमण गरेर नविन समूह कैलालीको जोशीपुर गएको र त्यहाँ एकजनाले अपराध स्वीकार्ने र अरु फरार रहने योजना बनेको पाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

‘सोही योजनाअनुसार आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही र चिरञ्जिबी शाही लगायत लोकजंगले बनाएको योजना अनुरुप बौनिया बजारभन्दा उत्तरतर्फको चायाँभावर गाउँमा लुकेका रहेछन्’ उनले भने– उनीहरु कार्तिक २५ गते धनगढीको जुगेडा हुँदै भारत गएको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैद सजाय माग दाबी गरेको छ ।

त्यस्तै, लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ ।

त्यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिव क्षतिपूर्तीको पनि माग गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार