अपहरणमा परेको बताउने बैतडीका शिक्षकले स्थानीयको हत्या गरी भागेको खुलासा

अपहरणमा परेको बताउने बैतडीका शिक्षकले स्थानीयको हत्या गरी भागेको खुलासा
फाइल तस्बिर

बैतडी : आफू अपहरणमा परेको दाबी गरेका बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ । सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा फेला पारेको छ। डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए। उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार त्यसपछि उनको थप खोजी सुरू भएको थियो । बेपत्ता रहेका डम्मरको अन्तिम सम्पर्क हरिश अवस्थीसँग भएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले प्रारम्भिक अनुसन्धानबाट हरिशले हत्या गरेको देखिएको र यसबारे थप बुझ्ने काम भइरहेको बताए।

‘हरिश अपहरण नपरेको बुझिएको छ, मंसिर १४ गते नै डम्मरको हत्या गरेर ओडारमा गाडेको अवस्थामा छ भनेपछि प्रहरी पुगेको र शव पनि फेला परेको छ,’ उनले भने। हत्या के कारणले गरिएको भन्नेबारे खुलेको छैन।

पक्राउ परेका हरिशले आफूलाई मंसिर २३ गते विप्लवका कार्यकर्ताले अपहरण गरी राप्ती नदीमा मार्नका लागि धकेलेको भन्दै फेसबुकमा लेखेका थिए। उनले शौचालयमा नग्न बनाई यातना दिएको भन्दै प्रहरीलाई उद्धारका लागि स्टाटसबाटै आग्रह गरेका थिए। उनले त्यसबेला डम्मरका केही आफन्तले उनको हत्या गरेको र आफूलाई फसाउन खोजेको स्टाटसमा लेखेका थिए।

उनको स्टाटसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्तिमार्फत् उनको अपहरण नभएको र झुठो कुरा सामाजिक सञ्जालमा लेखेको भन्दै कारबाहीका लागि प्रहरीसँग माग गरेको थियो।

अवस्थीलाई पुस २३ गते शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार