धनगढी ‘मोडेल’को लक्ष्य सहित हमालद्वारा मेयरका लागि ९ बजेर १३ मिनेटमा स्वतन्त्र उम्मेदवारी घोषणा

भन्छन्, 'म माटाको ऋण तिर्न चाहन्छु !'

धनगढी ‘मोडेल’को लक्ष्य सहित हमालद्वारा मेयरका लागि ९ बजेर १३ मिनेटमा स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी : धनगढी उप-महानगरपालिकाको  मेयरका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणामा बोल्दै अभियान्ता हमालले धनगढीलाई मोडेल बनाउने लक्ष्य सहित बिहान ९ बजेर १३ मिनेटमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘५ वर्ष धनगढीलाई स्वयंसेवकको रूपमा काम गरेर देखाउन मेरो इच्छा हो। म माटाको ऋण तिर्न चाहन्छु। मैले धनगढी मोडेल स्थापित गर्ने भनेको छु। जसरी भारतमा केजरिवालले दिल्ली मोडेल बनाए, गुजरातमा मोदीले बनाए। हामी धनगढी मोडेल नेपालको लागि प्रारम्भ गर्छौ। आजसम्म जति हाम्रा, उती राम्रा भन्ने छ। अब जति राम्रा उती हाम्रा हुन्छ। कसैलाई विभेद हुँदैन। काँग्रेस होस, कम्युनिष्ट होस, एमाले होस, माओवादी होस, राप्रपा होस अथवा कुनै दलमा नभएका व्यक्ति हुन्। सबैले समान न्याय पाउने छन्। मेरो जित सम्पूर्ण धनगढीवासीको जित हुनेछ ।’ उनले भने ।

यस्तै हमालले यो अन्तिम पटक चुनाव चड्ने समेत बताए ।  ‘यो मेरो अन्तिम पटक हो। अब पटक पटक चुनाव लड्दैन। एक पटक तपाईँहरूले मलाई मौका दिनुपर्छ। एक पटक मलाई परीक्षामा बस्न दिनुहोस्, पास भएन भने जे सजाय पनि भोग्न तयार छु। मैले बदमासी गरेको देख्नुभयो भने तपाईँहरूले मलाई कालोमोसो लगाउनु पर्दैन। म कालोमोसो लगाएर आफै बजार घुम्नेछु।’ हमालले थपे ।

उनले योजनाको विषयमा अनावश्यक आश्वासन दिएर अहिले नै ठगी गर्न नचाहेको बताए । आफ्नो एउटै मात्रै लक्ष्य,धनगढीलाई बनाउने भएकाले त्यसका लागि आवश्यकता अनुसार सहकार्य गर्न तयार हुने बताए ।

सम्बोधनकै क्रममा उनले भने,‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरे पनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिँदैन । धनगढीले मलाई यहाँसम्म पुर्‍याएको छ । त्यसैले धनगढीलाई मोडेल बनाउने मेरो एउटै लक्ष्य हो।’

यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा पनि मेयरको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका हमाल हालका मेयर नृप वडसँग पराजित भएका थिए । नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित वडले १४ हजार ३२४ मत प्राप्त गरेका थिए भने, निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य समेत भइसकेका हमाल धनगढीका व्यवसायी तथा समाजसेवीको रूपमा पनि आफ्नो क्षवि बनाइसकेका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि यहाँ निर्वाचन केन्द्रित गतिविधि तीव्र बन्दै गइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार