अध्यक्ष पोखरेल भन्छन्, ‘निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारहरुले मान्न जरुरी छैन’

हाम्रो आफ्नै आचारसंहिता छ

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको अभिव्यक्ति दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको समेत बताए ।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानूनहरु बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरुले मान्न जरुरी नरहेको उनको भनाइ थियो । उनले पत्रकारहरुको आफ्नै आचारसंहिता रहेको पनि बताए ।

उनले भने, ‘प्रविधिलाई मात्रै हेरेर राज्यले कानूनहरु बनाउँदै गर्दाखेरी त्यसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गर्दोरहेछ भन्ने अनुभुति हामीलाई भएको छ । भर्खरै निर्वाचन आयोगले जुन एउटा आचारसंहिता बनाएको छ, त्यसलाई हेर्ने हो भने प्रविधिसँग तर्सिदै गर्दाखेरी, प्रविधि सँग डराउँदै गर्दाखेरी नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि संकुचन हुने ढंगका प्रावधानहरु त्यहाँ राखेको छ । तर हामीले भन्यौँ निर्वाचन आयोगको जुन आचारसंहिता छ, त्यसलाई हामीले आचारसंहिताको रुपमा मान्नु जरुरी छैन । हाम्रो आफ्नै आचारसंहिता छ । त्यो त हामीसँग गरिएको अपेक्षा मात्रै हो ।’

अध्यक्ष पोखरेललले राज्यले सधैँभरी प्रेसलाई नियन्त्रण गर्ने मनशाय राखेको बताए । उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उनको तर्क थियो ।  जनताले बास्तविक कुरा थाहा पाउनेहरु समाचार बनाउन उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारहरु आफ्नो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विषयमा सचेत हुन जरुरी रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले तिनै तहको सरकारले बनाउने कानूनहरुमा प्रेस स्वतन्त्रता संकुचन गर्ने विषय प्राथमिकतामा परिरहेको तर्फ ध्यानाकर्षण गराए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता केवल पत्रकारको विषय मात्रै नभई आम जनताको विषय भएको बताए । प्रेस स्वतन्त्रता नहुँदा जनता सुसुचित हुन नपाउने उनको भनाई छ । प्रेस स्वतन्त्रताको आन्दोलन आम जनताको आन्दोलन हो भन्नेकुराको सचेतना जगाउनुपर्ने उनले बताए । :रातोपाटीबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार