बैतडीको दशरथचन्दको मेयरमा एमालेका ‘लख्खाभाइ’ र उपमेयरमा कांग्रेसकी कौशिला विजयी

नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन् ।

बैतडी : नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन् । उनले नेपाली काँंग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावललाई पछि पार्दै बाजी मारेका हुन् । लख्खाभाइ  ६ हजार  ५ सय ८५ मत ल्याएर विजयी भएका हुन् । यस्तै उनका निकटतम प्रतिस्पर्धी  नेपाली  काँग्रेसका  गजेन्द्रसिंह रावलले  ५ हजार ४ सय २७ मत प्राप्त गरेका छन् ।

दशरथचन्द नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो । तर नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ । मेयरमा विजयी लख्खाभाइ गएको स्थानीय तहको निर्वाचनमा पनि ६२ मतले मात्रै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग पराजित भएका थिए  । २०७४ मा राप्रपा नेपालबाट चुनाव लडेका जोशी यो पाली भने एमालेबाट चुनाव लडेका हुन् ।

नेपाली कांग्रेसले दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा समेत हार व्यहोरेको छ । गएको स्थानीय तहमा ११ वडा मध्ये ८ मा जित निकालेको कांग्रेस अहिले पछि परेको छ ।

नेपाली कांग्रेस भित्रको अन्तरघात, पार्टीको व्यवस्थापन लगायतका कारणले कांग्रेसले हार व्यहोरेको कांग्रेसकै नेताहरुले बताएका छन् । पालिकामात्रै नभएर गएको स्थानीय तहमा जित हासिल गरेका वडाहरुमा समेत कांग्रेसले पराजय भोगेको छ । गएको स्थानीय तहको निर्वाचनमा वडा नं १,२, ३, ७ र ९ मा विजय हासिल गरेको कांग्रेसल अहिले यी सबै वडामा पराजित भएको छ ।

उपमेयरमा भने नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छिन् । नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार सरस्वती नेपालीलाई पछि पार्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । चन्द ६ हजार  १ सय ७० मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी  नेकपा एमालेकी सरस्वती  नेपालीले ५ हजार  ४ सय ९५ मत प्राप्त गरेकी छिन् ।

दशरथचन्द नगरपालिकाका ११ वडा मध्ये वडा नं १ मा एमालेका विष्णुदत्त भट्ट, वडा नं २ मा एमालेका सूर्यबहादुर बोहरा, वडा नं ३ मा एमालेका अजब पाण्डे, वडा नं ४ मा एमालेका भानदेव भट्ट, वडा नं ५ मा, केशब लेखक  वडा नं ६ मा नेपाली कांग्रेसका महेन्द्र कार्की विजयी भएका छन् ।

यस्तै वडा नं ७ मा एमालेका हरिदत्त बडु, वडा नं ८ मा नेपाली कांग्रेसका चामुसिंह थापा, वडा नं ९ मा एमालेका मोहनदेव जोशी, वडा नं १०मा कांग्रेसका त्रिलोकसिंह बिष्ट र वडा नं ११ मा एमालेका जयदत्त पन्तले जित हात पारेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार