सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष चामल आयात वृद्धि दर बढ्दो

चामल

कैलाली : सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर धान, गहुँसहित अन्न उत्पादनको उर्वर भूमि भएपनि प्रदेशमा अझैं पनि हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको पाइएको हो। कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ।

गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो ।चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै एक अर्ब छ करोड १३ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ । चामल आयातबाट गत जेठ मसान्तसम्म १३ करोड १९ लाख रुपैयाँ राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका हुदै प्रदेशमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विन्टल चामल आयात भएको थियो ।अर्कोतिर सुदूरपश्चिम प्रदेशमा धान खेती हुने क्षेत्रफल पनि निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा एक लाख ७५ हजार दुई सय १८ क्षेत्रफलमा धान खेती भएको थियो भने चालु आर्थिक वर्ष २०७८/८९ मा एक लाख ७२ हजार सात सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।त्यस्तै, प्रदेशमा धानको उत्पादकत्वमा पनि ह्रास आइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

‘२०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको हावा हुरीसहितको बेमौसमी वर्षाले मुख्य रुपमा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके र कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको ठुलो क्षतिले समग्र राष्ट्रिय धान उत्पादनमा कमि आएको छ’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘गत आर्थिक वर्षको तुलनामा गण्डकी प्रदेश बाहेकका धान उत्पादन बृद्धि ऋणात्मक रहन गयो भने सुदूरपश्चिममा ३१ दशमलब ४९ प्रतिशतले उच्च गिरावट हुन आएको छ । चैते धानको उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव ३२ प्रतिशतले बृद्धि हुन आई चार दशमलव ६८ मेट्रिक टन प्रति हेक्टर कायम हुन गएको छ ।’प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले हरेक वर्ष धान खेती हुने क्षेत्रफलमा एक हजार हेक्टरले कमि आइरहेको बताए । आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाई गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत रोपाइँ सम्पन्न

सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।यस वर्ष जेठ २२ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरे पनि सुदूरपश्चिममा अलि ढिलो सक्रिय भएको सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। जसले रोपाइँमा असर परेको छ। यस क्षेत्रमा अधिकांश किसानलाई आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।

सबैभन्दा बढी कैलालीमा करीब ७० हजार हेक्टरमा धान खेती हुन्छ। मंगलबारसम्म ३० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि निर्देशनालयका योजना अधिकृत एकेन्द्र ऐरले जानकारी दिए। यस्तै‚ कञ्चनपुरमा ४८ हजार ४६९ हेक्टर जग्गामा धान खेती हुने गरेको छ। जहाँ अहिलेसम्म ३६ प्रतिशत रोपाइँ सकिएको छ। अछाममा धान खेती हुने १६ हजार हेक्टर जमीनमध्ये ५५ प्रतिशतमा रोपाइँ सकिएको छ।बझाङमा धानखेती हुने १२ हजार हेक्टर जमीनमध्ये ५६ प्रतिशत, बाजुरामा ६ हजार ९०० हेक्टरमध्ये ३१ प्रतिशत, डडेल्धुरामा ६ हजार १०० हेक्टरमध्ये ६५ प्रतिशत, दार्चुलामा चार हजार ४०० हेक्टरमध्ये ३५ प्रतिशत र डोटीमा ६ हजार ५०० हेक्टरमध्ये ३५ प्रतिशतमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।

वेलैमा रोपाइँ गर्न सरकारले सिंचाइको व्यवस्था गर्नुपर्ने योजना अधिकृत ऐर बताउँछन्। उनले भने “आकाशे पानीको भरमा रोपाइँ गर्नुभन्दा पनि सरकारले सिंचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिंचाइ आयोजना ल्याउनुपर्छ।”

मनसुनी वर्षापछि रोपाइँ गर्दा धानको उत्पादन बढ्ने कृषि प्राविधिक बताउँछन्। भूमिगत र खोला तथा नदीको पानीको सहायतामा रोपिएको धान सप्रिन पनि आकाशे पानी आवश्यक पर्ने किसानको भनाइ छ।सुदूरपश्चिमका ७३ हजार ६१७ हेक्टरमा वर्षभरि‚ ३६ हजार ४८३ हेक्टरमा आंशिक सिंचाइको सुविधा रहेको क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। यस्तै‚ धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशतमा मात्र सिंचाइ सुविधा छ।पहाडी जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्म रोपाइँका लागि उपयुक्त समय मानिन्छ। ढिलो गरी रोपाइँ गरिए रोग तथा कीराको समस्या देखिने कृषि प्राविधिकको भनाइ छ।

आज धान दिवस
हरेक वर्षझै यस वर्ष पनि प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसलाई मनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार