एसईई नतिजा आज : न्यूनतम ३५ अंक नल्याए फेल, ग्रेड निर्धारणको नयाँ व्यवस्था यस्तो छ ? 

एसईईपछि कुन विषय पढ्ने ?

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दु:ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

  • एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल !

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र संपरीक्षण अङ्कमा गरिनेछ । परीक्षण र संपरीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) ग्रेडमा रुपान्तरण हुनेछ ।

  • ग्रेड निर्धारणको नयाँ व्यवस्था 
क्र.स.  

उपलब्धि प्रतिशत

 

स्तरीकृत अङ्क

 

अक्षरमा उपलब्धिस्तर

 

उपलब्धि स्तरको ब्याख्या

९० र सो भन्दा माथि ९० र सो भन्दा माथि ९० र सो भन्दा माथि सर्वोत्तम
८० र सो भन्दा माथि ९० भन्दा कम ४.० ए प्लस अच्‍युत्तम
७० र सो भन्दा माथि ८० भन्दा कम ३.६ एबी प्ल्स उत्कृष्ट
६० र सो भन्दा माथि ७० भन्दा कम ३.२ बी उत्तम
५० र सो भन्दा माथि ६० भन्दा कम २.८ सी प्लस सन्तोषजनक
४० र सोभन्दा माथि ५० भन्दा कम २.४ सीडी ग्राह्य
३५ र सो भन्दा माथि ४० भन्दा कम १.६ डी आधारभूत
३५ भन्दा कम एन जी अवर्गीकृत

अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो । विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको थियो ।

कार्यदलको सिफारिस अनुसार नै सरकारले सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

यसअघिसम्म अक्षराङ्कन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था थियो ।

  • एसईईपछि कुन विषय पढ्ने ?
  • प्राविधिक विषय

अहिले प्राविधिक विषयमा आकर्षण छ । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक विषय पढाउँछ । परिषद्का अनुसार प्राविधिक विषयतर्फ ४९ वटा कोर्षको पाठ्यक्रम तयार पारिएको छ । ती सबै लागु हुन भने सकेका छैनन् ।

परिषद्ले आफ्ना आंगिक, साझेदारी, सामुदायिक विद्यालय तथा निजी स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईईपछि विद्यार्थीका लागि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियररिङ तहका कार्यक्रममा पढाई हुने जनाईएको छ ।

प्रमाणपत्र तह नर्सिङ पढ्न चाहने विद्यार्थीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

समग्रमा न्यूनमत २ जिपिए ल्याएका विद्यार्थीले प्रमाणपत्र तह नर्सिङ पढ्न सक्नेछन् । तीन वर्षे यो कोर्षका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । त्यस्तै हेल्थ असिस्टेन्ट पनि पढ्न सकिनेछ । यसका लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । तीन वर्षे हेल्थ असिस्टेन्ट पढ्नको लागि चार लाख चार हजार शुल्क तोकिएको छ ।

त्यस्तै तीन वर्षे नै कोर्ष रहेको डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार  ८ सय रुपैयाँ शुल्क तोकिएको छ । स्वास्थ्यमा यी बाहेक नेत्रविज्ञान, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी लगायतका विषय पनि पढ्न पाइने छ ।

स्वास्थ्यबाहेक इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय पनि अध्ययन गर्न पाइन्छ । सिटीईभिटीले यी कार्यक्रमको अवधि १८ महिनेदेखि ३ वर्षसम्मको राखेको छ ।

  • इञ्जिनियरिङतर्फ कुन कुन विषय पढ्न पाइन्छ ? 

इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।

त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।

तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।

  • कृषि तथा वनविज्ञानमा कुन विषय पढ्ने ? 

कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ ।​ डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।

यसका लागि लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।

सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने छ ।

सिटीईभिटीकै ६३ वटा आंगिक शिक्षालय छन् । त्यस्तै ४३ वटा शिक्षालय साझेदारीमा चलेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७३ वटा शिक्षालय छन् भने निजी क्षेत्रबाट ४२९ वटा सम्बन्धन प्राप्त शिक्षण संस्थाले प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएका छन् ।

देशभर रहेका प्राविधिक विषय अध्यापन गराउने शिक्षण संस्थामा ८४ हजार विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने क्षमता छ । तर, गत वर्ष जम्मा सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका थिए ।  सिट क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसक्नु पछाडि विभिन्न कारण रहेको सिटीईभिटी को भनाई छ ।

प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हुँदै आएको छ ।

  • छात्रबृत्तिबारे अनभिज्ञ 

सिटीईभिटी अन्तर्गत प्राविधिक विषय पढ्नको लागि दुई किसिमको कोटा छुट्याइएको हुन्छ । पूर्ण शुल्कीय कोटा र छात्रबृत्ति कोटा गरी दुई किसिमबाट विद्यार्थीले पढ्न पाउँछन् ।

सिटीईभिटीका हरेक कार्यक्रममा अनिवार्य रुपमा छात्रबृत्ति प्रदान गरिन्छ । प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत र जेहेनदार विद्यार्थीका लागि १/१ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।

त्यस्तै प्रत्येक स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत २ र जेहेनदार विद्यार्थीका लागि १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ । प्रत्येक ४० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत ३ र जेहेनदार अन्तर्गत १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ । त्यो भन्दा माथिको लागि वर्गीकृत अन्तर्गत ४ र जेहेनदारतर्फ १ जनालाई छात्रबृत्ति प्रदान गरिने सिटीइभिटी ले जनाएको छ ।

अध्ययन अवधिभर खाने र बस्ने व्यवस्था भने विद्यार्थीले नै मिलाउनुपर्ने भएपनि छात्रबृत्तिमा सिफारिस भई भर्ना भएका विद्यार्थीले आफू अध्ययनरत शिक्षालयमा लाग्ने कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार