‘गठबन्धन बनाएर आउनेलाई हराउनुपर्छ’

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे ।  उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशङ्का थियो । माओवादीका कतिपय नेताहरूले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्योल थियो । प्रचण्डले मङ्सिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरू भर लाग्दा छैनन् । खेलखाल, जालझेल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उनले यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिद्ध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होइन । यो त पुण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसै गरी अघि बढ्यौँ भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दीक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरूमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि, यिनीहरू प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनुपर्छ । कुनै पनि हालतमा जिताउनुहुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन ।’

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

उनले २०४६ सालदेखि अहिलेसम्म सत्तामा आएकाहरूको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकतन्त्र हो, जहाँ नीतिगत भ्रष्टाचार हुन्छ । स्टेटले आफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार