‘मुखले क्रान्तिकारी भयौँ, व्यवहारमा छैनौँ हाम्रो पार्टी धेरै बिग्रियो पहिलेको जस्तो छैन’ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताएका हुन् ।

पार्टी पहिलाको जस्तो नरहेको उल्लेख गर्दै व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासोसमेत गरे ।

पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेकाले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको उनले बताए । ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै सुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ,’ उनले भने ।

भनाइ र गराइमा धेरै नै फरक रहेको उल्लेख गर्दै उनले भने, ‘हामी विचार, कुरा, र मुखमा त अहिलेपनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण,दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हलगर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ ।’

अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर पार्टीलाई सुदृढ बनाउनुपर्ने उनले बताए । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको उनको भनाइ छ । -कान्तिपुरबाट

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार