धनगढी र अत्तरिया लगायत देशभर फूलपाती भित्र्याइयो, कैलालीका एक पुरुष छातीमाथि जमरा उमार्दै

बडादसैँको सातौँ दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइएको छ ।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाईं समारोह

धनगढी : बडादसैँको सातौँ दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइएको छ ।

यसै क्रममा धनगढीमा विभिन्न सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन्। धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन्।

फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासँगै सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो। मुलुकका सुरक्षा निकायहरूले विधिपूर्वक फूलपाती भित्र्याइएको जनाएका छन्। फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा थियो।

आज दसैँको सातौँ दिन देश भरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन छ । देश भरी घटस्थापनादेखि पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ। कैलालीको तेघरी स्थिति नेपाली सेनाले फूलपाती भित्र्याएको छ । सेनाले धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट फूलपाती भित्र्याएको हो । सेनाले धनगढीबाट लगेको फूलपाती अत्तरिया चोकमा बाजागाजा सहित परिक्रमा गरी त्यहाँ पनि फूलपाती भित्र्याएको हो ।

यसका साथै, कैलालीमा एक जनाले आफ्नो छातीमाथि दसैँको जमरा उमारिरहेका छन् । जिल्लाको गोदावरी नगरपालिकास्थित वडा नम्बर ९ मुरकट्टीका नरबहादुर साउदले जमरा उमारिरहेका हुन्।

उनले घटस्थापनादेखि व्रत बसेर छातीमा जमरा उमारिरहेको जानकारी दिए। घटस्थापनादेखि विधिवत् पूजापाठ गरेर उनी छातीमा जमरा उमार्न घरमै उपवास बसेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार