संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन, शरीर नजलाई अध्ययनका लागि राखिने

अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकामा राखिने

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन, शरीर नजलाई अध्ययनका लागि राखिने

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशी जीवनका अनेकन कुइनेटाहरूमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्त्व विभागका निर्देशक । कहिले नेपाल-अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । जहाँ जे भए पनि सत्यमोहनले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राखे ।

वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाएका थिए ।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।

  • शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय

संस्कृतिविद् तथा शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

वमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए।

‘आज हामी अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, डाक्टर बस्नेतले भने,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ।’

उनले सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उनले भने।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार