आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, धन त्रयोदशीको दिन के-के गर्ने ?

आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, धन त्रयोदशीको दिन के-के गर्ने ?

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भोलि अर्थात कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

भोलि बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले आजदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक १० गते ११:३७ बजे उत्तम साइत

कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पड्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपड्काई सभ्यरूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्किन भने छोडेको छैन ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दीयो र कौडा

धनतेरसको दिन साँझमा एउटा दीयो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनु पर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नु पर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

मन्त्रका साथ जप

साँझ पुजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुबेराय वैश्रववाय, धन–धान्यधिपतये धन–धान्य समृद्धि मम देहि दापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नु पर्छ । यसो गर्दा धनको कमी हुँदैन ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित

राति बीउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाँधेर लक्ष्मी–कुवेरको पूजा गर्नु पर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसंग राख्नु पर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ ।

श्री सूक्ताको पाठ

धनतेरसदेखि भाइटीकासम्म हरेक रात ११ वटा कौडालाई रातो बस्त्रमा राखेर श्री सूक्ताको पाठ गर्नु पर्छ । भाइटीकापछि त्यसलाई धनसंग राख्नु पर्छ, यसो गर्दा तपाईंलाई लाभ हुन्छ ।

चाँदीको सिक्का

धनतेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगती प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

ल्वाङ

यदि तपाईंसंग पैसा टिक्दैन र सधैं धनको कमी हुन्छ भने धनतेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडि ल्वाङ चढाउनु पर्छ । यसो गर्दा पैसा टिक्न थाल्छ ।

धनसंगै सम्मान पनि प्राप्त

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनु पर्छ र यसलाई बैठक कोठामा राख्नु पर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नु पर्ने कुरा

धनतेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नु पर्छ । त्यसो गर्नाले तपाईंले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नु हुन्छ ।

श्रीयन्त्रको पूजा

धनतेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको अभाव हुँदैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार