धनतेरसको अवसरमा सुनको व्यापार बढ्ने, माग धान्न समस्या हुने

सुनको मूल्य

शनिवारदेखि नेपालीहरूको दोस्रो महान् चाड तिहार शुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन धातुका नयाँ सामान जोडेर धनतेरस मनाउने गरिन्छ ।

यस दिन धनधान्यकी देवी लक्ष्मी पूजाको लागि उनलाई मन पर्ने वस्तुहरू किन्ने गरिन्छ । विशेषगरी धनतेरसका दिन लक्ष्मी मातालाई खुसी गराउन सुनचाँदीका गरगहनादेखि धातुमा नयाँ भाँडाकुँडा किन्ने परम्परा छ ।

उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूले आफ्ना आवश्यकता र गक्ष अनुसार वस्तु तथा सामान खरिद गर्नको लागि यस दिनको प्रतीक्षा गर्ने गर्दछन् । धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न सकिने विश्वास छ ।

यसका साथै दीपावलीको किनमेलको लागि धनतेरसका दिन निक्कै उत्तम मानिन्छ । यस दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास रही आएको छ ।

सुनचाँदीको व्यापार बढ्यो, माग अनुसारको आपूर्तिमा समस्या  

धनतेरसको दिन बजारमा नयाँ भाँडाकुँडा किन्नेको भिड लाग्नुका साथै सुनचाँदी पसलमा पनि सुन तथा चाँदीका भाडा वर्तनदेखि गरगहना किन्नेको भिड लाग्ने गर्दछ । यसले गर्दा दशैंपछि सुनचाँदी बजारमा चहलपहल बढेको छ । तर, सुनचाँदीको माग अनुसार आपूर्ति गर्न नसक्ने अवस्थामा सुनचाँदी व्यवसायी रहेका छन्  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिले सुनचाँदीको समान किन्ने ग्राहक बढेपनि आपूर्तिमा समस्या रहेको बताए । आर्थिकन्युज डटकमसंग कुराकानी गर्दै उनले भने, ‘धनतेरसको दिनका लागि भनेर सुनचाँदीका भाडा वर्तनदेखि गरगहना किन्ने ग्राहक बढेका छन् । तर, माग अनुसार आपूर्ति नहुँदामा समस्या छ ।’

अध्यक्ष शाक्यका अनुसार दशैंपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको छ । आज शुक्रबार र भोलि शनिवार दैनिक ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास छ । तर, सुनको आपूर्ति भने दैनिक १० केजी मात्रै हुँदै आएको छ । माग अनुसारको सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि सरकारले चासो नदिएको उनको गुनासो छ ।

धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु अर्थात् सेतो रङ्ग मन पर्ने भएकोले विशेष गरेर यो दिन सुनभन्दा पनि चाँदीमा ग्राहकको आकर्षण बढ्ने उनको भनाई छ । अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै उनले भने, ‘अघिल्लो वर्षभन्दा यस वर्ष सुनचाँदीको व्यापार बढ्ने देखिएको छ । यस वर्षको धनतेरसमा चाँदीको माग गत वर्षको भन्दा १ हजार किलोसम्म बढ्न सक्छ ।’

टक्सार विभागमा पनि पाइन्छ सुन र चाँदीको सिक्का  

नेपाल राष्ट्र बैंकले धनतेरस अवसर पारेर विहीबारदेखि नै सुन र चाँदीका सिक्का बिक्री गरिरहेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट धनतेरसलाई नै लक्षित गरेर विहीबारदेखि बिक्री शुरु गरेको हो ।

धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिरहेको राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक÷एक थान असर्फी खरिद गर्न सकिन्छ ।

सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरेर बिक्री गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

धनतेरसमा के के किन्न हुन्छ, के के हुँदैन ?    

धातुका भाडा जसमा पानी भरिएको भए आर्थिक लाभको लागि अझ उत्तम मानिन्छ । आज विशेष गरेर गणेश, लक्ष्मी तथा गजलक्ष्मीको मूर्ति वा तस्बिर तथा उनीहरूको मूर्ति कुँदिएको सिक्का तथा असर्फी, चाँदी, तथा तामाको दियो, कौडा, धन यन्त्र खरिद गर्नु प्रचलन छ ।

आर्थिक लाभका लागि पानीका भाडा, कारोबारमा विस्तारका लागि धातुको दियो, सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली, स्वास्थ्य तथा आयुका लागि घण्टा, घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा,  पूजा र सामान, कूचो तथा खरेटो खरिदका लागि शुभ साइत मानिन्छ ।

विशेष गरेर धनतेरसका दिन चाडै बिग्रन तथा फुट्ने तथा धारिला हातहतियार खरिद गर्न नहुने जनविश्वास रही आएको छ । धन त्रयोदशीमा कालो रंगको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन । धनतेरसका दिन काँचका सामान खरिद गर्नु शुभ मानिँदैन । सिसाका सामानको सम्बन्ध राहुसँग हुने भएकाले यसलाई अशुभ मानिएको हो ।

यो दिन धार भएका कैँची, चक्कु आदि सामान पनि किन्नु हुँदैन । यस्ता सामान घरमा ल्याए अशुभ हुने जन विश्वास रहेको छ  । फलामका सामान शनिको कारक मानिने हुनाले पनि यस्ता सामानले खतरा बढाउने मान्यता छ ।

यो दिन चिनी तथा चिनीबाट बनेका कुरा घर ल्याउनु अशुभ मानिन्छ । चिनीबाट बनेका खाद्य वस्तु लामो समयसम्म सुरक्षित एवं स्थायी हुँदैनन् । त्यसैले यस दिन चिनी तथा चिनीबाट बनेका परिकार घरमा भित्र्याउनु हुँदैन । धनतेरसका दिन स्टिलका सामान किन्नु पनि राम्रो मानिँदैन । स्टिल राहुको कारक हुने मान्यता छ ।

कसरी राख्ने ? 

तपाई धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने तामा, पित्तल आदिको भाडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व(उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ ।

यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नो लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेर प्रसन्न भई तपाईँको घरमा विराजमान हुनुहुनेछ । धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार