एलन मस्क बने ट्वीटरको मालिक, ट्विटरमा हुन सक्ने ७ परिवर्तन

एक महिनाको लामो कानुनी विवाद अन्त्यसँगै सोसल मिडिया कम्पनी ट्विटर नयाँ अध्यायमा प्रवेश गरेको छ। कम्पनीको नयाँ मालिकका रूपमा विश्वकै धनाढ्य एलन मस्क प्रवेश गरेका छन्।

एक महिनाको लामो कानुनी विवाद अन्त्यसँगै सोसल मिडिया कम्पनी ट्विटर नयाँ अध्यायमा प्रवेश गरेको छ। कम्पनीको नयाँ मालिकका रूपमा विश्वकै धनाढ्य एलन मस्क प्रवेश गरेका छन्। आफू मालिक बनेपछि उनले सबैभन्दा पहिला ट्विटरका सिइओसहित उच्चपदस्थ अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

मस्कले ट्विटरमा ४४ अर्ब अमेरिकी डलर लगानी गरेसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल र कानुनी नीति तथा सुरक्षा प्रमुख विजय गड्डे बाहिरिएका छन्।

मस्क मालिक बनेसँगै ट्विटरमा कस्तो परिवर्तन देखिएला भन्ने जिज्ञासा सर्वत्र छ। ज्याक डोर्सी हुँदासम्म ट्विटर अर्को सामाजिक सञ्जाल फेसबुकभन्दा मुख्य रूपमा दुई कारणले भिन्न थियो। पहिलो, यसका पोष्टमा शब्दको सीमा थियो। दोस्रो, ट्विटरले आफ्नो साइटमा प्रकाशन हुने विषयवस्तुको संवेदनशीलतालाई धेरै ध्यान दिन्थ्यो। त्यही कारणले सन् २०२१ मा अमेरिकाका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो।

डोर्सीसहित उनका अरू साथीहरू मिलेर सन् २००६ मा स्थापना गरेको ट्विटरले बितेका १६ वर्षमा आफ्नै छवि बनाएको छ। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कको सार्वजनिक छवि धनाढ्यका रूपमा छ। उनी आफूलाई अभिव्यक्ति स्वतन्त्रताका जबरजस्त अभियन्ताका रूपमा स्थापित गर्न खोज्दैछन्। त्यसका लागि ट्विटरमा सबै विचाराधाराले स्थान पाउनुपर्ने उनको भनाइ छ। पूर्वराष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्धले वामपन्थी विचारधाराप्रति ट्विटर पूर्वाग्रही देखिएको भन्दै उनले ट्रम्पको ट्विटर एकाउन्ट पुनर्स्थापना गर्ने बताएका छन्।  

आफ्ना योजनामा अत्यन्तै महत्वकांक्षी मस्कले ट्विटरमा अब कस्तो नीति लिने हुन् हेर्न बाँकी नै छ। ट्विटरको स्वामित्व मस्कसँग आएपछि केही महत्वपूर्ण परिवर्तनको अपेक्षा गरिएको छ।

अभिव्यक्ति स्वतन्त्रताका सरोकार सम्बोधन 

मस्कले अभिव्यक्ति स्वतन्त्रताकै विषय उठान गर्दै ट्विटर खरिदको योजना बनाएका थिए। उनी अभिव्यक्ति स्वतन्त्रताका स्वघोषित अभियन्ता हुन्। ट्विटरले एल्गोरिदमको माध्यमबाट केही पोस्टहरूलाई परिवर्तन गर्ने आरोप मस्कले  लगाउँदै आएका थिए। ट्विटर खरिद गर्नुअघिका अन्तर्वार्तामा मस्क भन्थे, ‘केही खास नभए पनि कुनै कुनै ट्विट बडो रहस्यमय तरिकाबाट धेरै प्रयोगकर्तामा पुग्छन् भने कुनै नियोजित रूपमा पुग्दैनन्। ओपन सोर्स एल्गोरिदमले यसको समस्या समाधान हुनसक्छ।’

गत सेप्टम्बरमा ट्विटरको सुरक्षा नीतिमा प्रश्न उठाउँदै मस्कले खरिद सम्झौता भंग गर्न खोजेका थिए। यस निर्णयविरूद्ध ट्विटरले मस्कलाई अदालतसम्म पुर्‍यायो। त्यसबेला एकजना प्रस्तोता जो रोगनले पोडकास्टमा मस्कलाई सोधेका थिए, ‘तपाईंले स्वामित्व लिएमा के ट्विटर सेन्सरसिपबाट मुक्त हुन्छ?’

‘यसका सन्दर्भमा म केही सुझाव दिने छु, त्यसलाई मान्ने वा नमान्ने उनीहरूको विचार हो,’ मस्कले भनेका थिए। 

प्रविधि कम्पनी एक्सल स्प्रिङ्गरका प्रमुख कार्यकारी मथियास डोफ्नरले भनेका छन्, ‘मस्कले ट्विटरलाई सेन्सरसिप फ्री बनाउँदै नयाँ एल्गोरिदमको विकास गर्न सक्छन्। आफूलाई अपमानित गर्ने किसिमका पोस्टबाट मुक्ति पाउनका लागि नयाँ एल्गोरिदम चयन गर्ने विकल्प दिन सक्छन्।’

सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै मस्कले ट्विटरलाई स्वस्थकर बहसको थलो बनाउने बताएका छन्। ‘सभ्यताको स्वच्छ भविष्यका निम्ति ट्विटर साझा विद्युतीय माध्यम बन्नेछ। जहाँ, विभिन्न आस्था र विचारका मानिसहरूले स्वस्थकर बहस गर्नसक्नेछन्,’ उनको विज्ञप्तिमा भनिएको छ। 

मस्कका अनुसार अराजक गतिविधिलाई ट्विटरले छुट दिने छैन। ‘राज्यका सबै नियम र परिधिभित्र रहेर ट्विटर चलाउनका निम्ति सबै प्रयोगकर्तालाई न्यानो स्वागत छ,’ मस्कले लेखेका छन्।

आफू सेन्सरसिपका विरूद्धमा रहेको मस्कको जिकिर छ। ‘कानुनभन्दा माथि कोही पनि हुन सक्दैन। कानुनी परिधि बाहिरको सेन्सरसिप मान्य हुने छैन,’ उनले लेखेका छन्।

डोनाल्ड ट्रम्पलाई ट्विटरमा पुर्नस्थापित गर्ने

मस्कले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्नुको कारण ट्विटर प्रतिबन्धित एकाउन्टहरू फिर्ता ल्याउनु पनि हो। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले जनवरी २०२१ मा प्रतिबन्ध लगाएको थियो।  राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक हुने दिनमा आफ्ना समर्थकलाई हिंसात्मक प्रदर्शनका निम्ति उक्साएको भन्दै ट्विटरले उनको खाता बन्द गरिदिएको थियो। ट्रम्प पक्षधर प्रदर्शनकारीहरूले  जनवरी ६ मा  अमेरिकाको संसद भवनमा हिंसा भड्काएका थिए। उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो। 

ती प्रदर्शनकारीको समर्थन गरेको भन्दै ट्विटरले ट्रम्पलाई तत्काल प्रतिबन्ध लगाएको थियो। मस्कले यसअघि नै ट्रम्पमाथिको प्रतिबन्ध सही नभएको बताएका थिए। ‘ट्विटरले ट्रम्पमाथि लगाएको आजीवन प्रतिबन्ध मैले  खोल्नेछु। ट्विटर वामपन्थीप्रति पूर्वाग्रही देखियो,’ उनले भनेका छन्।

ट्विटरले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा अमेरिकी कन्सपिरेसी सिद्धान्तकार एलेक्स जोन्स र बेलायतका दक्षिपन्थी टिप्पणीकार केट हप्किन्स पनि छन्।

खर्च कटौती

ट्विटरको नगद प्रवाहको स्थिति नकारात्मक छ। आयभन्दा बढी खर्च हुँदा ट्विटर ऋणात्मक अवस्थामा छ। यस कम्पनीको बैंक ऋण १३ अर्ब बिलियन छ। १ सय २४ मिलियनले खर्च बढी देखिएको कारण त्यसलाई घटाउनु पर्ने सोच मस्कले बनाएका छन्। ट्विटर आफूले लिएपछि ७५ प्रतिशत कामदार कटौती गर्ने योजना उनले अन्य लगानीकर्तालाई सुझाएको वासिङ्टन पोस्टको खुलासा छ। ट्विटरमा ७ हजार ५ सय मानिसले काम गर्छन्।

गत जुनमा ट्विटरका कामदारलाई उनले भनेका वित्तीय हिसाबले कम्पनीलाई दरिलो बनाइने बताएका थिए।

‘अहिले आम्दानीभन्दा खर्च बढी छ। सबल कम्पनीका निम्ति यो स्थिति सुखद पक्कै होइन,’ उनले भनेका थिए।

एभ्रिथिङ एप बनाउने

मस्कले ट्विटरलाई सबै फिचर भएको एपमा रूपमा विकास गर्ने योजना बनाएका छन्। यसबारे उनले विस्तृत कुरा नभने पनि पाँच वर्षभित्र यो कुरा सम्भवत: तुल्याउने उनको भनाइ छ। मस्कको एभ्रिथिङ एप चीनको वी च्याटबाट प्रेरित छ। वी च्याटमा म्यासेज पठाउन तथा वित्तीय कारोबार गर्ने सुविधा छ। ‘चीनको वी च्याट सबैले रूचाएका छन्। यो सहितको नयाँ फिचर ट्विटरमा आए सबैभन्दा ठूलो सफलता हुनेछ,’ मस्कले भनेका छन्।

आम्दानी वृद्धि गर्नु

मस्कले सन् २०२८ भित्र  ट्विटरको आम्दानी  पाँच गुणाले वृद्धि गर्ने महत्वाकांक्षा राखेका छन्। त्यसबेलासम्म ट्विटरको वार्षिक आम्दानी २६.४ अर्ब डलर पुर्‍याउने उनको योजना छ। ट्विटरका प्रिमियम प्रयोगकर्ता बढाउने, व्यापारिक तथा सरकारी संस्थाका प्रयोगकर्ताबाट निश्चित रकम लिने उनको योजना छ। मस्कको लगानीपछि वित्तिय संस्थाहरूले ट्विटरमा ऋण लगानीका निम्ति तयार छ्न् तर त्यसका निम्ति ट्विटरको व्यापार राम्रो रहेको प्रमाण पेश गर्नुपर्नेछ।

ट्विटरका नक्कली खाता निष्क्रिय

ट्विटरले दाबी गरेभन्दा निकै बढी संख्यामा नक्कली खाता रहेको मस्कले जिकिर गर्दै आएका छन्। त्यस्ता खाता निष्क्रिय नपारेकै कारण आफूले खरिद सम्झौता रद्ध गर्न लागेको उनले बताएका थिए। ट्विटरका सबै खातालाई आधिकारिकता दिन र नक्कली खातालाई निष्क्रिय बनाउन विशेष योजना ल्याउन सक्छन्।

नियामक निकायका चासो सम्बोधन 

ट्विटरका पूर्वसुरक्षा प्रमुख पिटर ज्याकोले गत अगष्टमा ट्विटरमाथि गम्भीर आरोप लगाएका थिए। उनले ट्विटरको सुरक्षा मामिलामा विदेशी सरकारले गरेका हस्तक्षेप नियन्त्रणका लागि कम्पनी असफल भएको टिप्पणी गरेका थिए। ट्विटरले भने त्यसलाई नकार्दै आएको छ। यद्यपी ट्विटरविरूद्धको मुद्दामा मस्कले यो विषय पनि उठान गरेका थिए। मस्कका कानुन व्यवसायीले यस सम्बन्धमा ज्याकोसँग सोधपुछसमेत गरेका थिए। ट्विटरको डेटा सुरक्षासम्बन्धमा नियामक निकायहरूले विशेष चासो राख्ने गरेका छन्। 

मस्कले ट्विटरको व्यवस्थापकीय पदमा पनि व्यापक फेरबदल गर्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार