छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दै

छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दै

कैलाली : सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झैँ सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकिझकाउ बनाइएको छ । पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरू जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो ।

निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ । मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । सूर्य भगवान्को प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ । देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिङ्गारपटार गरिएको छ ।

मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरूको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । छठ पूजाका लागि रु ११ लाख लाग्ने अनुमान गरिएको छ ।

यसपालि कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको बर्तालुहरू बताउँछन् । यो वर्ष कोभिड–१९ को सङ्क्रमणको महामारी न्यून भइसकेकाले बर्तालु र दर्शनार्थीहरुको भिडभाड निकै बढ्न सक्ने आयोजकले अनुमान गरेको छ । यस पर्वको प्रारम्भ हिजो बर्तालुहरूले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन् । छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गर्ने गरिन्छ । विगत लामो समयदेखि छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार