कैलालीमा मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय कैलालीले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मत बदर हुन नदिन कार्यालयले स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाएको कार्यालयले जनाएको छ । यस क्रममा शुक्रवार कैलालीको घोडाघोडी नगरपालिकास्थित सुख्खडमा नमुना मतदान गरिएको थियो । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश निर्वाचन कार्यालय, धनगढीको आयोजनामा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलिया देवी चौधरीलगायत गाउँघरमा खटिइरहेका स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए । उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए ।

यसअघि, कैलाली ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमुना मतदानको तयारी गरिएको छ ।

शुक्रवारबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयंसेवी परिचालन गरिएको उनले बताए ।

स्थानीय तहबाट निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयंसेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको हो । निर्वाचन कार्यालयले स्थानीय तहको एक जना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा खटाएका छन् ।

मत बदर हुनुको प्रमुख कारण मतदाता शिक्षाको अभाव रहेको बोराडाँडीकै स्थानीय तथा सेवा निवृत्त शिक्षक नारायण पन्थीले बताए । सरकारले सञ्चारमाध्यममार्फत मतदान गर्ने प्रक्रियाका बारेमा केही जानकारी गराएको भए पनि गाउँघरका धेरै मानिस सञ्चार माध्यमको पहुँचमै नरहेको उनी बताउँछन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उप-महानगरपालिकामा खसेको कुल ६३ हजार ६ सय ७४ मतमध्ये नगरप्रमुखमा ११ हजार ७ सय ६९ (१८ प्रतिशत) मत र उपप्रमुखमा २३ हजार ९ सय ६८ मत (३७ प्रतिशत) मत बदर भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार