SKIP THIS

धनगढी उप-महानगरपालिका

आइतबारको कन्सर्टका लागि धनगढीमा नेपथ्य, शनिबार ब्याण्डसँग स्थानीयवासीको भेटघाट

आइतबारको कन्सर्टका लागि धनगढीमा नेपथ्य, शनिबार ब्याण्डसँग स्थानीयवासीको भेटघाट

धनगढी : मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो धनगढी आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई शुक्रबारै आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगंजमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत धनगढीमा छैठौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस ३ गते आइतबार बेलुकी ४ बजे स्थानीय धनगढी रंगशाला मैदानमा हुनेछ । धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोश्रोपटक प्रस्तुत गर्नलागेको हो ।

नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै अर्को वर्ष २००६ मा ‘शान्तिको लागि शिक्षा’ अभियानमा आफूलाई यहाँ प्रस्तुत ग¥यो । त्यसको ६ वर्षपछि फेरि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै नेपथ्य यहाँ प्रस्तुत भएको थियो । पछिल्लोपटक भने चार वर्षअघि सन् २०१८ मा नेपथ्यले अहिले प्रस्तुत हुनलागेको रंगशाला मैदानमै कन्सर्ट दिएको थियो ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

आइतबारको प्रस्तुतीका लागि धनगढी रंगशालामा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ । शनिबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम धनगढीका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको धनगढीस्थित संयोजक आदर्श ढकाल भन्छन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ ढकालका अनुसार धनगढी कन्सर्टका टिकटहरु सुदुरपश्चिम महोत्सवको स्टल नम्बर १५९ बाट धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np) मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट (nepathya.com.np) बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६०१३ र ९८४३३४७६२७ नम्बर उपलब्ध छन् ।

मानवसेवा आश्रमले शनिबार धनगढी, चटकपुर ४ को शहिदगेट नजिकै ‘सौंराइ बैंकेट एण्ड इभेन्ट्स’ मा विहान ११ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गर्ने छ ।

यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै धनगढीमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

तस्बिर: निरज पटेल / नेपालय

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार