चर्को ब्याजदर विरुद्ध आन्दोलन घोषणा

चर्को ब्याजदर विरुद्ध आन्दोलन घोषणा

धनगढी : कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रन लागेका हुन् । संघले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर चर्को ब्याजदर विरुद्ध प्रदर्शनलगायतका कार्यक्रम गर्न लागिएको जनाएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले चर्को ब्याजदर असुलिरहेको विरोधमा मंगलबार धनगढीमा प्रदर्शन गरिने बताए । उनले संघको अगुवाइमा हुने आन्दोलनमा सबै बस्तुगत संघसंगठन ऐक्यवद्धता र समर्थन रहेको दावी गरे । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बनेको उनले बताए । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।

चर्को ब्याजदर घटाउनुपर्ने मागसहित अर्थमन्त्रीलगायत सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको व्यवसायीको गुनासो छ । सरकारले सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रनु परेको बरिष्ठ उपाध्यक्ष ओझाले बताए । ओझाले चर्को ब्याजको मारमा व्यवसायीमात्र नभएर आमनागरिक पनि परेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अनिलकुमार भुजानियाले आफूखुसी ब्याजदर बढाएर बैंक तथा वित्तीय संस्थाहरुले कालोबजारी गरिरहेको आरोप लगाए । ‘गएको असारअघि एक अंकको ब्याजदर बढाएर अहिले दुई अंकमा पुगेको छ ।’ उनले भने, ‘यसको मार हामी व्यवसायीमात्र होइन, नेपाली जनता पनि परेका छन् ।’ चर्को ब्याजदरले व्यवसाय धरासायी हुँदा पनि सरकारले हस्तक्षप नगरेको उनले बताए ।

होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बैंकको किस्ता तिर्न नसकेर व्यवसायी पलायन हुन थालेका बताए । केही महिनाअघि सात प्रतिशत रहेको ब्याजदर अहिले १७ प्रतिशतसम्म पु¥याइएपछि आफूहरुले बैंकको किस्ता तिर्न नसक्ने अवस्था आएको उनको भनाइ छ । ब्याजदर बढ्दा अनधिकृत व्यापार बढेको व्यवसायीको भनाइ छ ।

कैलाली उद्योग वाणिज्य संघलगायत व्यवसायसंवद्ध संघसंस्थाहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा बैंकहरुले दोब्बर बढाएको सेवा शुल्क, कर्जा स्वीकृति शुल्कलाई पनि घटाउन तथा चालु पूँजी कर्जा निर्देशिक स्थगित गर्नुपर्ने माग गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार