पौडेलले काटे, महतले व्युँताएः बालेन भन्छन्,– सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो

मेयर बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् ।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।

अर्थमन्त्री महतले बजेटमा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्री महतको भनाइ छ ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो । यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो ।

तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो । त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः व्युँताउनुपर्ने दबाब दिँदै आएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार