‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रोले प्रायोजन गर्ने

‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रोले प्रायोजन गर्ने

धनगढी : धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो । 

अवार्डमा दिइने ८ वटा विधा मध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ । सोमबार मञ्चका अध्यक्ष प्रदीप पाठक र अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएको माया मेट्रो हस्पिटलले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई निरन्तर साथ दिँदै आएको छ भने विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोगका कार्य गर्दै आएको छ । 

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्ने अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए । उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सावद नेपाल क्रिकेट सङ्घका निवर्तमान केन्द्रीय सदस्य हुन । उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहँदै आएका छन् । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्य रूपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष पाठकले बताए । यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । 

असार ८ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।  

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । प्रायोजक प्रबद्र्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । अवार्डको मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार