भारतलाई खुसी पार्न खोज्दा प्रचण्डलाई संकटः एमालेको अडान, प्रधानमन्त्री प्रचण्ड अस्वीकार्य

भारतलाई खुसी पार्न खोज्दा प्रचण्डलाई संकटः एमालेको अडान, प्रधानमन्त्री प्रचण्ड अस्वीकार्य

काठमाडौं : गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भने ।

पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् । एमालेले त राजीनामा नै मागेको छ । ‘यति गम्भीर अभिव्यक्तिलाई त्यसै छोडेर हामी जनताको बीचमा जान सक्दैनौं, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ’, एमाले सांसद ठाकुर गैरे भन्छन् ।

प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, प्रचण्डले एक कार्यक्रममा भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पनि अलग आसयमा दिइएको अभिव्यक्तिलाई गलत अर्थ लगाउने काम भइरहेको बताउँछन् । ‘यो प्रधानमन्त्री कसले बनाएको हो भन्नेबारे केपी ओलीलाई राम्रोसँग थाहा छ । उहाँ नै प्रस्तावक हो । एमाले, रास्वपा, राप्रपाहरुले मत दिएको होइन ?’ उनले प्रश्न गरे ।

तर अहिले प्रधानमन्त्रीलाई बदनाम गर्न तिनै दलहरु गलत अर्थ लगाउन तम्सिएको आचार्य बताउँछन् ।

राम्रो पारिवारिक सम्बन्ध भएकाले प्रितमले आफूप्रति राखेको सद्भावलाई त्यसदिनको कार्यक्रममा प्रधानमन्त्रीले सम्झिएको आचार्य तर्क गर्छन् । ‘१५ वर्ष अगाडि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि फेरि प्रधानमन्त्री हुनुहोस् भनेर प्रितमले राखेको सद्भाव त्यसदिन सम्झिएको मात्र हो’, उनी भन्छन्, ‘प्रितम एक सामान्य मान्छे हो, सामान्य मान्छेले भनेर पनि हुने कुरा होइन ।’

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्रीले जाने कार्यक्रम र बोल्ने शब्दबारे ख्याल नगर्दा यस्तो संकट निम्तिएको बताउँछन् । ‘नेपाल र भारत बीचको सम्बन्धबारे हामी अवगत नै छौं । हाम्रा प्रधानमन्त्रीहरुले हट्नुपर्दा भारतले असहयोग ग¥यो भन्नु नौलो कुरा होइन’, विश्लेषक रोका भन्छन्, ‘तर योे घटनाबाट प्रधानमन्त्रीले जहाँ पायो त्यही र जे पायो त्यही बोल्नु हुन्न भन्ने सन्देश दिएको छ ।’

  • प्रधानमन्त्री प्रचण्ड अस्वीकार्य

संघीय संसदको दुबै सदन अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई बटमलाइन बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

सोमबार ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको र नेपालको स्वाभिमान गिरेको एमालेको निष्कर्ष छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार