कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन

adij lamkhutte

कञ्चनपुर : कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । 

लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए । 

ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन् । निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ ।  विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ । एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले बताए।

यही सङ्क्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा  सङ्कलन गरेर वयस्क लामखुट्टेमा सङ्क्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ । 

एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू नौ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ । घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाइले फुल पार्ने गर्दछ । यही फुलबाट वयस्क लामखुट्टे बाँच्न उचित तापक्रममा नौदेखि १० दिन लाग्छ ।

 वयस्क लामखुट्टे नै मानिसलगायत अन्य प्राणीको रगत खाने गर्दछ । रगत चुस्ने क्रममा नै मानिसलाई रोगको सङ्क्रमण आउने गर्दछ । सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेङ्गु रोगको सङ्क्रमण प्रत्येक वर्ष देखिने गरेको छ । रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ । असारदेखि असोज महिनासम्म डेङ्गु रोगको सङ्क्रमण बढ्न सक्ने उच्च जोखिम रहने गर्दछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशका नौवटै जिल्लामा पछिल्लो समय डेङ्गु रोगबाट तीन सय १८ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी दार्चुलामा एक सय ९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ । स्वास्थ्यखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार